सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानसँग श्रम सम्झौता गर्ने अन्तिम तयारी

सरकारले कामदारको सामाजिक सुरक्षा र आम्दानीका हिसाबले नयाँ श्रम गन्तब्यका रुपमा जापान र मरिससलाई प्रथामितामा राखेर श्रम सम्झौता गर्ने तयारी गरेको छ ।

सरकारले पुराना गन्तब्य मुलुक यूएई र ओमानलाई समेत नयाँ श्रम सम्झौताको सूचीमा राखे पनि अधिकतम नेपाली कामदारको आम्दानी र सुरक्षाका हिसाबले जापान र मरिसस उपयुक्त हुने भएपछि सोही अनुसार श्रम सम्झौताको तयारी गरेको बताइएको छ ।

अन्य श्रम गन्तब्यका तुलनामा जापान र मरिसस उपयुक्त हुने भएपछि सरकारले कामदारमैत्री श्रम सम्झौताका लागि यि २ देशसँग हुने श्रम सम्झौतालाई महत्वकासाथ अघि बढाएको छ । जापानले आफना नागरिक सरह नेपाली कामदारलाई सेवा सुविधा दिने भएपछि सरकारले जापानसँग श्रम सम्झौता गर्ने अन्तिम तयारी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सह सचिब रामप्रसाद घिमिरेले नेपाली कामदारको सामाजिक सुरक्षा, ठगी र सुन्य लागतमा सम्झौता गर्ने श्रम स्रोत मुलुकलाई प्रथामिकतामा राखेर श्रम सम्झौता गर्ने तयारी रहेको बताए ।

सहसचिव घिमिरेले भनेका छन्–‘जापान जाने नेपाली कामदारले स्थानिय कामदार सरह सुविधा पाउने गरी नेपाली कामदारलाई जापान पठाउने तयारी भइरहेको छ । नेपाली कामदार लिने बारेमा जापान सरकारले त्यहाँका ४ वटा मन्त्रालयसँग सहकार्यमा काम गरिरहेकाले केही समय ढिलो भएको हो ।’

नेपाली कामदार लिन सम्बन्धमा जापानले श्रम, गृह लगायतका ४ वटा मन्त्रालयसँग सहकार्य गरेर नेपाली कामदार लिने सम्बन्धमा निर्णय दिने बताएको छ । नेपाल सरकारले कोरियाको रोजगार अनुमती प्रणाली (इपिएस) जस्तै जापानमा पनि पारर्दशी तरिकाले नेपाली कामदार पठाउने सम्बन्धमा सम्झौता गर्ने तयारी गरेको छ ।

पहिलो चरणमा जापानमा न्युन संख्यामा नेपाली कामदार माग गर्ने देखिएपनि अर्को वर्षदेखी अधिकतम कामदार लिने योजना बनाएको छ । जापान जाने नर्स र केयर गिभरका सम्बन्धमा भने भाषा परिक्षालाई अझ गुणस्तरिय बनाउने योजना रहेको छ ।

अन्य कामदारको हकमा भने जापान सरकारले ‘एन ४’ मान्यताको भाषा भए पुग्ने जनाएको छ । जापानले नेपाली कामदार लिने निश्चित भएपनि यो वर्ष न्युन संख्यामा नेपाली कामदार लिने भएको मन्त्रालयले जनाएको छ ।

जापानले दक्ष कामदारको माग गर्ने जनाउदै आएपनि नेपाल पक्षले नर्सिङ, केयर गिभर, रेस्टुरेन्ट, निर्माण लगायतका क्षेत्रमा धेरै नेपालीलाई पठाउन सकिने देखिएको छ । यसैगरी नेपाली कामदारको उद्योग र कृषि क्षेत्रमा समेत अनुभव रहेका कारण यो क्षेत्रमा पनि ठुलो संख्यामा कामदार जान सक्ने देखिन्छ ।

यसैगरी खाडी राष्ट्रको तुलनामा बढी अम्दानी हुने मरिसससँग श्रम सम्झौता गर्न नेपाल सरकारले हालै श्रम सम्झौताको लागि प्रास्ताब पठाएको छ । मरिससले यस अघि बंगलादेश लगायत अन्य देशका कामदार लिदै आएकोमा नेपालसँग सम्झौतामा गरी नेपाली कामदार लिने जनाएको छ ।

मरिससले पर्यटनसँग सम्बन्धीत सेवा क्षेत्रका लागि नेपाली कामदार लिने जनाएको छ । अफ्रिकन मुलुक मरिससमा भारतिय मुलका नागरिक धेरै भएका नेपालीलाई काम गर्न उपयुत्त हुने सरकारी भनाई छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्