सिके राउतले अब के गर्लान ? आश्चर्यजनक सहमती
सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मधेसतर्फ लागेका छन् । सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिने जेल बसाइबाट रिहा भएका थिए ।
सरकारले शुक्रबार उनीसँग ‘आश्चर्यजनक’ रूपमा राजनीतिक सहमति गरेको थियो । सहमतिको भोलिपल्टै उनी आफ्नो मागमा सरकार सहमत भएको भन्दै मधेस हान्निएका हुन् । राउतको अबको योजना के छ ? सुरक्षा निकायदेखि राजनीतिक मूलधार र मधेसका आमजनताको चासोको विषय हो यो ।
![](https://everestwall.com/wp-content/uploads/2017/01/ck-raut-1-1024x740.jpg)
उनले सरकारसँग अचानक गरेको राजनीतिक सहमतिले मधेसको राजनीतिमा पक्कै केही नयाँ ‘डिस्कोर्स’ दिनेछ । मधेस केन्द्रित दलमा यसबारे बहस सुरु भइसकेको छ । सत्तारूढ दलले पनि आफ्नो भित्री तयारी गर्दै नेकपामा ल्याउँदा के होला भनेर हल्लाकै रूपमा भए पनि परीक्षण गरिसकेको छ ।
कतिपयले राउत सत्तारूढ नेकपामै प्रवेश गर्ने चर्चा गरेका छन् भने केहीले मधेसलाई नै आधार बनाएर छुट्टै पार्टी बनाउने सक्ने विश्लेषण गरिरहेका छन् । उनी कतै मधेस केन्द्रित दल फोरम वा राजपासँग मिल्ने त होइन भन्ने अनुमान पनि धेरैको छ ।
‘राजनीतिक सहमतिपछि राउतसहित भएर संगठनका मुख्य व्यक्ति र शुभचिन्तकसमक्ष समीक्षा बैठक भयो,’ गठबन्धनका सहसंयोजक कैलाश महतोले भने, ‘अब सरकारसँग भएको ११ बुँदे सहमतिमै टेकेर अगाडि बढ्ने कुरा भएको छ । हामी केही दिनमै औपचारिक बैठक गर्ने तयारीमा छौं ।’
राउत शनिबार काठमाडौंबाट मधेस झरे पनि कहाँ गए भन्ने टुंगो लागेको छैन । यस्तै उनले अबको रणनीति तय गर्न कहाँ बैठक राख्छन् भन्ने विषय अन्योलमै छ । पाँच महिना पहिला पक्राउ पर्नुअघि राउत जनकपुरमा बस्दै आएका थिए ।
०६९ जेठमा काठमाडौंमा पत्रकार सम्मेलन गरेर मधेस छुट्टै राष्ट्र बनाउने भन्दै राजनीति सुरु गरेका राउतले साढे ६ वर्षपछि शुक्रबार काठमाडौंमै सरकारसँग सहमति गरेका हुन् । राउत मूलधारको राजनीतिमा कसरी र कुन स्वरूपमा आउने हुन् भन्नेबारे सबैको चासो छ । राजपा र फोरमले राउतलाई हर्ने दृष्टिकोण पनि त्यसमा निर्भर गर्छ ।
‘सरकारसँग भएको सहमति विश्लेषण गर्दै संगठन कसरी बनाउनेमै राउत, हामी र संगठन केन्द्रित रहनेछ,’ गठबन्धनका सहसंयोजक महतोले भने, ‘हाम्रो पहिलो प्राथमिकता संगठन हो । आवश्यकताअनुसारको संरचनामा जाने हाम्रो सुरुदेखिकै योजना हो ।’ विभिन्न अडकलबाजी भए पनि गठबन्धनले अबको यात्राबारे कुनै टुंगो लगाइसकेको छैन ।
राउत नेकपामा प्रवेश गर्ने हल्ला निराधार रहेको सहसंयोजक महतोले बताए । ‘यो हामीलाई बदनाम गर्ने उदेश्यले प्रचार गर्न खोजिएको हो । हाम्रो आगामी यात्राबारे केही दिनमै टुंगो लाग्नेछ ।’ राउतको नेतृत्व गठबन्धनको पाँच सदस्यीय तदर्थ समिति छ । संयोजक राउत र सहसंयोजक महतो हुन् । यस्तै अब्दुल खाण राष्ट्रिय प्रवक्ता, चन्दन सिंह सहजकर्ता र दीपक साह कोष–संयोजक छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्