सरकारले ८४ करोड ६५ लाखमा किन्दै दुई ओटा रेल
सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्न लागेको छ । मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि रेल विभागले जी–टु–जी प्रक्रियाबाट रेल खरिद गर्न प्रक्रिया अघि बढाएको हो ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा रेल किन्न ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । बजेटमा उपलब्ध रकमले दुईवटा रेल खरिद गर्न नसकिने भन्दै विभागले रकम थप्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।
मन्त्रिपरिषद्ले थप रकमसहित कोकन रेल्वे कर्पोरेसनसँग जी–टु–जी प्रक्रियाबाट रेल खरिद गर्न सहमति दिएको हो । दुई साताभित्र रेल खरिद प्रक्रिया अघि बढ्ने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् ।
‘खरिद सम्झौता अघि बढाउन शुक्रबार भारतीय कम्पनीलाई पत्र पठाउनेछौं’, मिश्रले भने, ‘पत्र पठाएको दुई साताभित्र कम्पनीसँग सम्झौता हुन्छ ।’ सरकारले रेल खरिदका लागि भारतीय कम्पनीसँग प्रस्ताव मागेको थियो ।
कोकन रेल्वे कर्पोरेसनले सबैभन्दा न्यून रकममा रेल उपलब्ध गराउने प्रस्ताव गरेकाले खरिद सम्झौता प्रक्रिया अघि बढाउन लागिएको मिश्रले बताएका छन् । उनका अनुसार रेल खरिद प्रक्रियामा भारतका पाँच कम्पनी सहभागी थिए ।
नयाँ रेल बर्दिबास–जनकपुर–जयनगर–कुर्था–विजयपुरसम्म सञ्चालन गर्ने लक्ष्य छ । यो खण्डको लम्बाइ ६९ किलोमिटर छ । त्यसमध्ये ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेको छ । बाँकी खण्ड निर्माणाधीन छ । दुई महिनाभित्र नयाँ रेल सञ्चालनमा ल्याउने तयारी विभागको छ ।
‘मन्त्रिपरिषद्को निर्णयसँगै जी–टु–जी प्रक्रिया अघि बढेको छ । अब कागजी प्रक्रिया पूरा गर्न बाँकी छ’, विभागका महानिर्देशक मिश्रले भने, ‘यो सबै गर्दा करिब दुई महिनाभित्रमा रेल सञ्चालनमा आउँछ ।’
नयाँ रेलमा पाँचवटा डिब्बा हुनेछन्। अगाडि र पछाडि दुवैतर्फ इन्जिन जोडिएको हुनेछ । यसलाई दुवैतर्फ चलाउन मिल्नेछ । यस्तो रेल डिजेल इलेक्टिफाइड मल्टिपल युनिट (डेमु) विद्युत् तथा डिजेल दुवैबाट सञ्चालन गर्न सकिन्छ ।
रेलको दुवैतर्फ इन्जिन भएकाले फर्काउनुपर्ने समस्या नहुने र छोटो दूरीका निम्ति उपयुक्त हुने मिश्रले बताएका छन् । सरकारले दुईवटा रेल किन्ने निर्णय गरे पनि कति वटा चलाउने भन्ने विषय अझैसम्म टुंगेको छैन । यात्रुको चापअनुसार कतिवटा रेल सञ्चालन गर्ने भन्ने टुंगो लगाइने मिश्रले बताए ।
नेपालले अहिले किन्ने तयारी गरेको रेल यात्रुबाहक हो । यसको एउटा डिब्बामा एक सयजनासम्म यात्रु बसेर यात्रा गर्न सक्छन् । उभिएर पनि यात्रा गर्न सकिने भएकाले दुई सयजनासम्म एउटा डिब्बामा अट्ने मिश्रको भनाइ छ ।
खरिद गर्न लागिएको ब्रोडगेज (५.६ फिट ट्र्याक) रेल्वेमा गुड्ने रेल हो । यो रेलको गति अधिकतम प्रतिघन्टा एक सय किलोमिटर छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा आठवटा स्टेसन छन् । औसत साढे चार किलोमिटर दूरीमा एउटा स्टेसन पर्छ । ३५ किलोमिटर दूरी पार गर्न डेढ घन्टाभन्दा बढी समय लाग्ने विभागको भनाइ छ ।
विभागले अघि बढाएको केरुङ–काठमाडौं, रक्सौल–काठमाडौं रेलमार्ग पनि अध्ययनकै क्रममा छ । यस्तै पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम जारी छ । सरकारले अहिले हेटौंडा–भरतपुर खण्डको राष्ट्रिय निकुञ्जलाई छलेर डिपिआर तयार गर्दैछ ।
विभागले नै राजधानीको सातदोबाटो–नारायणगोपाल चोकसम्म रेलमार्ग सञ्चालन गर्न डिपिआर तयार गर्दैछ । यस खण्डको डिपिआर तयार गर्न १९ परामर्शदाताले आसय पेस गरेका छन् ।
काठमाडौं महानगरपालिकाले ललितपुर महानगरपालिकासँगको सहकार्यमा चक्रपथको साढे २७ किलोमिटरमा मोनोरेल सञ्चालन गर्ने योजना बनाएको छ । मोनोरेलको डीपीआर तयार गर्न चाइना रेलवे २५औं ब्युरो ग्रुपसँग सम्झौता भइसकेको छ ।
यस्तै लगानी बोर्डले काभ्रेको धुलिखेलदेखि काठमाडौंको नागढुंगासम्मको मेट्रो रेल निर्माणको डिपिआर तयार गर्ने परामर्शदाता छनोट गर्दैछ । डीपीआर तयार गर्न प्रारम्भिक रूपमा सूचीकृत भएका चार कम्पनीको मूल्यांकन भइरहेको बोर्डले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्