सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

श्रीमती बलात्कारको कसुरमा ३ बर्ष जेल सजाय

आफ्नै श्रीमतीमाथ बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले एक जना बयश्क पुरुषलाई ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले आइतबार एकजना ४५ वर्षीय पुरुषलाई कैद सजाय सुनाएको हो ।

ति पुरुषले ३८ वर्षीया पत्नीलाई इच्छाविपरित करणी गरेको कसुर ठहर गर्दै अदालतले यस्तो फैसला सुनाएको हो । अदालतले अभियुक्तलाई ७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने सफाइ दिएको छ ।

मुलुकी ऐन जवरजस्ती करणीको महल ३ (६), मुलुकी अपराध ऐन २०७४ को दफा २१९ को उपदफा (४) मा व्यवस्था भए वमोजिम ३ वर्ष कैद सुनाइएको उनले बताएका छन् । ऐनमा यस्तो प्रकृतिको मुद्दामा ५ वर्षसम्म कैद गर्ने व्यवस्था छ ।

शारिरीक अवस्था कमजोर रहँदा समेत ०७५ साउन २१ गते कसुरदारले इच्छाविपरित वलजफ्ती पटक–पटक करणी गरेको र ७ वर्षीया छोरीलाई समेत साउन २१ गते यौन दुव्र्यवहार गरेको भन्दै अभियुक्तकी श्रीमतीले भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

पीडितले निवेदन दिएको भोलिपल्ट भदौ ५ गते पक्राउ परेका कसुरदारलाई अदालतले भदौ ३१ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । निवेदनसँगै कानुनी प्रक्रियाका लागि प्रहरीले प्रमाण जुटाउन आमा र छोरी दुबैलाई भदौ ५ गते जिल्ला अस्पतलामा स्वास्थ्य जाँच गराएको थियो ।

नयाँ संविधानले वैवाहिक बलात्कार भएमा ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरेपछि अदालतले पहिलोपटक यस्तो फैसला सुनाएको हो । अदालतमा वैवाहिक बलात्कार सम्बन्धी हालसम्म दुई वटा मुद्दा दर्ता भइ प्रक्रियामा छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्