सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अछाममा विप्लव माओवादी र प्रहरीबिच भिडन्त

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता र प्रहरीबीच अछाममा दोहोरो भिडन्त भएको छ । अछामको रामारोशन गाउँपालिकाको बाटुलसैनमा मंगलबार दिउँसो १२ बजे दुई पक्षबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ ।

गस्तीमा रहेको टोलीमाथि विप्लव कार्यकर्ताले फायर खोलेपछि त्यसको जवाफ फर्काएको अछामका प्रहरी प्रमुख जनक शाहीले बताएका छन् । प्रहरीले विप्लव समूहले फायर खोलेको बताए पनि विप्लव समूहका एक नेताले भने प्रहरीको भनाइ झुटो भएको दाबी गरेका छन् ।

नेत्र बिक्रम चन्द ‘विप्लव’: फाईल तस्विर

विप्लव समुहका एक नेताले भनेका छन्–‘प्रहरीले सुरूमै हामीमाथि फायर खोलेपछि त्यसको जवाफी फायर हामीले गरेका हौं ।’ प्रहरीको गोली लागी विप्लवका अछाम इञ्चार्ज सामान्य घाइते भएको उनले बताएका छन् ।

दोहोरो भिडन्त भएको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विप्लव समूहका नेता–कार्यकर्ताको गतिविधि नियन्त्रणका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

यसअघि काभ्रेमा पनि दोहोरो भिडन्त भएको दाबी प्रहरीले गरेको थियो । तर, नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले भिडन्तको प्रहरी दाबी गलत भएको विज्ञप्तिमार्फत बताएका थिए । त्यसको केही दिनपछि उनी काभ्रेबाट पक्राउ परेका थिए । सोमबार मात्रै विप्लवका कोशी इञ्चार्ज पनि प्रहरीबाट समातिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS