सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

हत्या गरेको २६ दिनपछी भेटियो रमिलाको शव

मोरङको बेलबारीबाट बेपत्ता भएकी रमिला राईको शव २६ दिनपछि सप्तकोशी नदीमा फेला परेको छ । बुधवार माछा मार्ने क्रममा स्थानीयले सेतो बोराभित्र शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

रमिला फागुन १७ गते शुक्रबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको हत्या आरोपमा पक्राउ परेका नेकपा मोरङका स्थानीय नेता योगेन्द्र गुरुङको बयानका आधारमा प्रहरीले रमिलाको शव खोजिरहेको थियो । तर, भेटाउन सकेको थिएन ।

मोरङका प्रहरी प्रमुख मनोज केसीले शव शंकास्पद भएकाले पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताएका छन् । केसीले भनेका छन्–‘कोशी नदीमा शव भेटिएपछि पोष्टमार्टमका लागि पठाउँदैछौं ।’

गुरुङले गत फागुन १७ गते शुक्रवार मध्यरातमा २६ वर्षीया राईको हत्या गरी शव सप्तकोशीमा फालेको स्वीकार गरेपछि प्रहरीले कोशी ब्यारेज केन्द्रित भएर शवको खोजी गरेको थियो । प्रहरीका अनुसार रमिला राई गुरुङकी प्रेमिका हुन् ।

रमिला बेपत्ता भएको उजुरी आएपछि अनुसन्धानका क्रममा प्रहरीले फागुन २४ गते गुरुङलाई इलामबाट पक्राउ गरेको थियो । गुरुङले रमिलाको हत्या गरेको स्वीकार गरे पनि शव नभेटिएकोले उनलाई अपहरण मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको थियो ।

गुरुङले रमिलाको हत्या गरेर बा१५च ७९१६ नम्बरको आफ्नै कारमा राखेर शव कोशी ब्यारेज र्पुयाएर फालेको बताएका थिए । मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले गुरुङको बयानसँग मिल्दो जुल्दो अवस्थामै शव कोशी नदीमा भेटिएको बताएका छन् ।

उनका अनुसार गुरुङले बयानमा भने जस्तै बोरामा भेटिएको शव हातखुट्टा बाँधेको अवस्थामा कोशी ब्यारेजको सप्तरीतर्फको ५२ नम्बर ढोकामा भेटिएको हो । राई र गुरुङ लामो समयदेखि प्रेम सम्बन्धमा थिए । मादक पदार्थ सेवन गर्दा विवाद भएपछि रमिलाको हत्या गरेको गुरुङले बयान दिएका छन् ।

रमिला बेपत्ता भएपछि गुरुङकै सल्लाहमा आफन्तले प्रहरीलाई खबर गरेर खोजीका लागि आग्रह गरेका थिए । फागुन १७ गते घरबाट निस्किएकी रमिला घर नआएपछि १८ गते आफन्तले योगेन्द्रलाई खबर गरेका थिए ।

१८ गते रमिलाको घर पुगेका गुरुङले प्रहरीलाई हुलिया र हराएको निवेदन लेख्न लगाए । उनले पनि प्रहरीलाई टेलिफोन गरी खोजी गरिदिन आग्रह गरे । तर, आफूमाथि अनुसन्धान केन्द्रित हुन थालेपछि गुरुङ भागेर इलाम पुगे । पक्राउ परेपछि भने उनले हत्या गरेको स्वीकार गरे ।

श्रीमानसँग सम्बन्ध बिच्छेद गरी बसेकी रमिला राई गुरुङसँग नजिकिएकी थिइन् । रमिलाकी दिदीले गुरुङलाई टेलिफोन गरेर बहिनी हराएको भन्दा उनले फागुन १७ गते राति ११ बजे घरमै छाडिदिएको बताएका थिए ।

तर, ‘सीसीटिभी फुटेज’ हेरेपछि घटनाले बेग्लै मोड लियो । १७ गते राति ११ बजे घर आएको बताएका गुरुङको गाडी राति साढे १२ बजे सुनसरीको इटहरीबाट पश्चिम लागेको सीसी क्यामेरामा देखियो । आफै हत्या गरी खोजे जस्तो गर्ने गुरुङको संलग्नता सीसीटिभी फुटेज विश्लेश्णका आधारमा खुलेको प्रहरीले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS