प्रदेश–२ लाई बदनाम गर्न प्रश्नपत्र लिक: मुख्यमन्त्री
एसईई परिक्षाको प्रश्नपत्र बाहिरिएको बिषयलाई लिएर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २ लाई बदनाम गर्न खोजिएको हाँस्यास्पद अभिव्यक्ति दिएका छन् । मुख्यमन्त्री राउतले एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने बताएका छन् ।
लगातार प्रश्नपत्र आउट गराएर प्रदेश २ को बदनाम गर्न खोजिएको मुख्यमन्त्री राउतले दाबी गरेका हुन् । प्रदेश २ मा लगातार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएपछि मुख्यमन्त्री राउतले त्यसमा केन्द्र सरकार नै जिम्मेवार रहेको बताएका हुन् ।
प्रदेश २ को परीक्षा प्रदेश सरकारले नभएर केन्द्र सरकारका निकायले नै गरेकाले उनीहरू नै जिम्मेवार हुने मुख्यमन्त्री राउतको भनाइ छ । मुख्य मन्त्री राउतले एसईईको प्रश्नपत्र आउट हुनु प्रदेशका लागि अति नै दुःखदायी घटना भएकाले यसबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्न केन्द्र सरकारसँग माग गरेका छन् ।
उनले भनेका छन्–‘छानबिनको नाममा समय गुजार्ने प्रचलन छ । परीक्षाको प्रश्नपत्र आउट प्रकरण गम्भीर भएकाले छिटोभन्दा छिटो कारबाही हुनुपर्छ ।’ संघ सरकारका निकायहरु प्रदेश २ लाई बदनाम गराउन लागि परेको आरोपसमेत राउतले लगाएका छन् ।
राउतले असन्तुष्टि ब्यक्त गर्दै भनेका छन्–‘संघीयतालाई नरुचाउनेहरुले षडयन्त्र गरेका हुन् । शिक्षाप्रतिको रुचि बढ्दै गएको अवस्थामा प्रदेशलाई बदनाम गराउने प्रयास भइरहेको छ ।’ प्रदेश सरकारले प्राविधिक शिक्षाको हब बनाउने नीति लिएकाले त्यसलाई विफल बनाउने योजनाअनुरुप यस्ता गतिविधि भइरहेको दाबी मुख्यमन्त्री राउतले गरेका छन् ।
लगातार विज्ञान र सामाजिक बिषयको प्रश्नपत्र बाहिरिएपछि रौतहटको चन्द्रनिगाहपुर लगायतका शहरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सडकमा निस्केका आक्रोसित विद्यार्थीहरुले संघका शिक्षामन्त्री गिरिराजमणि पोखरेल र गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका थिए ।
विद्यार्थीले टायर बालेर पूर्व–पश्चिम राजमार्गमा गरेको प्रदर्शनले केहीबेर सवारी आवागमन प्रभावित बनेको थियो । विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको घटना नसेलाउँदै सामाजिक विषयको पनि प्रश्नपत्र बाहिरिएपछी विद्यार्थीहरु अन्योलमा परेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्