चिनियाँ राष्ट्रपति जिनपिङको प्राथामिकतामा नेपाल
राजतन्त्रको अन्त्यपछि चीनले पहिलो पटक नेपालका राष्ट्र प्रमुखलाई बेइजिङमा ‘रेड कार्पेट’ ओछ्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका लागि दुवै देशमा तयारी बैठक भइरहेका छन् । भ्रमणलाई राजकीय वा औपचारिक कुन सम्मान दिने टुंगो लागिसकेको छैन ।
अघिल्ला सम्झौता केलाउनेदेखि नयाँ परियोजना तयारीसम्मको काम काठमाडौंमा भइरहेको अनौपचारिक जानकारी बेइजिङस्थित नेपाली दूतावासले पाएको छ । राष्ट्रपति भण्डारीलाई बेइजिङमा स्वागत गरेपछि चिनियाँ समकक्षी सी जिनपिङले नेपाल भ्रमण गर्ने सम्भावना बलियो रहेको स्रोतले जनायो ।
चिनियाँ एक उच्च अधिकारीले राष्ट्रपति सीको भ्रमण सन् २०१९ भित्रै हुनेमा आफू ढुक्क रहेको बताएका छन् । एसिया मामिलासमेत हेरिसकेका र नेपालबारे अध्ययन गरेका एक अधिकारी भन्छन्, ‘चीन हिमालपारि जानुपर्छ, नेपाल छुटाउन मिल्दैन ।’ अघिल्लो कार्यकालमा नेपाललाई छुटाएका राष्ट्पति सी यो कार्यकालको मध्यतिर भने जाने उनको दाबी छ ।
राष्ट्रपति सीको सन् २०१९ को भ्रमण तालिकामा भने नेपाल परेको छैन । तर, अन्तिम समयमा तय गरिने उनका भ्रमणसमेत हुँदै आएका छन् । प्रधानमन्त्रीलाई पटकपटक रातो कार्पेट ओछ्याएको भए पनि चीनले गणतन्त्र यता राष्ट्रप्रमुखलाई बेइजिङमा स्वागत गरेको छैन ।
पहिलो राष्ट्रपति डा. रामवरण यादवले दुई पटक चीन भ्रमण गरेका थिए । तर, सांघाई (एक्स्पो) र हैनान (बोआओ सम्मेलन) । यद्यपी चीनले राष्ट्रप्रमुखलाई बेइजिङमा स्वागत गरेन । राजसंस्था अन्त्य भएको यतिका समयसम्म चीनले राष्ट्रप्रमुखलाई बेइजिङमा स्वागत नगर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
राष्ट्रपति भण्डारी अप्रिल २६ र २७ मा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलनमा विशेष निम्तालुका रूपमा बेइजिङ जाने कार्यक्रम छ । बोआओ फोरममा यही भ्रमण तय भएका कारण नेपाललाई ननिम्त्याएको बताइन्छ ।
‘राष्ट्रपतिस्तरको भ्रमण हुने भएकाले बोआओ फोरममा नेपालका तर्फबाट सहभागिता नरहेको हो,’ अर्का चिनियाँ अधिकारीले भने । शुक्रबार सकिएको बोआओ फोरममा चिनियाँहरूको विदेशी लगानी आकर्षण र सहकार्य अनि बीआरआईमार्फत सञ्जाल विस्तारमा जोड थियो ।
चिनियाँ प्रधानमन्त्री ली खछ्याङ सम्मेलनमा सहभागी थिए । बीआरआई सम्मेलनका कारण बोआओ ओझेलमा परेको हो । चिनियाँ विदेश मन्त्रालयका एसिया मामिला निर्देशक झाङ झिसिङले बोआओको केही समयमा बीआरआईको ठूलो सम्मेलन हुन लागेको बताए ।
‘बीआरआईमा १ सय २४ मुलुक र २९ संघसंथाका उच्चस्तरका प्रतिनिधिको सहभागिता रहनेछ । यो सडक सञ्जाल मात्र होइन’, निर्देशक झाङले भने, ‘कतिपयको राष्ट्र एवं सरकार प्रमुख आउने जानकारी पाएका छौं । धेरैले उच्चस्तरीय प्रतिनिधि पठाउने भएका छन् ।’
यो सम्मेलन अहिलेसम्मकै ठूलो अन्तर्रािष्ट्रय जमघट हुने उनले दाबी गरे । यसमा राष्ट्रपति सीले राष्ट्र एवं सरकार प्रमुखका रूपमा छुट्टै सम्बोधन र छलफल गर्ने कार्यक्रम छ । त्यसबाहेक केही मुलुकका राष्ट्र एवं सरकार प्रमुखलाई छुट्टै राजकीय र औपचारिक भ्रमणको सूचीमा राखेको छ ।
बीआरआईमार्फत चीनको चुङछोङबाट लाओस, भियतनाम, थाइल्यान्ड हुँदै माल्दिभ्स र सिंगापुरको करिडोर बनिरहेको छ । यही मोडलमा काम हुने र एसिया जोड्ने पक्षमा चीन रहेको अधिकारीहरूले बताए । यसलाई ट्रान्स एसियन रेलको आर्थिक करिडोरका रूपमा लिइएको छ ।
बीआरआईमार्फत विश्वमा स्थल, जल, रेल र हवाई नेटवर्कको बलियो उपस्थिति चीनले जनाउन लागेको हो । यसमा चीनले सबैलाई स्वीकार्य हुने नीति लिने पनि उनीहरूको दाबी छ । सम्मेलन सुझाव र सहकार्यका लागि हुन लागेको बताइएको छ । अन्तरदेशीय, क्षेत्रीय हुँदै आपसी सहकार्यमा अघि बढ्नुपर्ने चिनियाँ जोड छ ।
राष्ट्रपति भण्डारीको भ्रमणमा चीनसँग रेलमार्गमा चीनको अनुदानबारे पहल हुने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् । चीनले यस्ता कनेक्टिभिटीमा ध्यान दिएर अघि बढिरहेकाले यसबाट नेपालले लाभ लिने गरी सहकार्यको पहल भइरहेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले बताए ।
‘सहकार्यका विषयमा धेरै काम भइरहेका छन् । सबै एकै पटक बाहिर आउन सक्दैनन् । हामी लागिरहेका छौं’, उनले भने । चीनले नेपालको अर्को छिमेकी भारतको बजारमा दृष्टि लगाएको छ । त्यसका लागि नेपाल उपयुक्त माध्यम बुझेको छ । त्यही कारण रेलको सम्भावना बलियो रहेको अधिकारीहरू बताउँछन् ।
सन् १९७८ मा देङ सियाओ पिङले नेपाल भ्रमण गर्दा सहयोगभन्दा साझेदारीमा चीनले जोड दिइएको थियो । नेपाल सहयोगमा बल गरिरहेको अवस्थामा अब चीनले आफ्नो मोडललाई परिवर्तन गर्दै साझेदारीमा अग्रसर हुने संकेत गरेको छ । त्यही संकेत यो भ्रमणमा देखिने जानकारहरू बताउँछन् । प्रधानमन्त्रीको भ्रमणमा भएका सम्झौता कार्यान्वयनको पाटोका विषयमा पनि छलफल हुनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्