आफ्नै श्रीमानले गुण्डा लाएर गरे अनिताको हत्या
गत फागुण १० गते कपिलवस्तुको वाणगंगामा मध्यरातमा आफ्नै घरमा हत्या गरिएकी अनिता पौडेलको हत्यामा उनकै श्रीमान संलग्न रहेको खुलासा भएको छ । उनको हत्यामा श्रीमानसहित तीन जना संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।
तीनै जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । नीजि विद्यालयमा सहयोगीका रुपमा कार्यरत अनिताको हत्यापछि कपिलवस्तुका विभिन्न संघ–संस्था र मिडयाले हत्यारा पत्ता लगाउनका लागि व्यापक दवाव दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उक्त हत्यामा उनका श्रीमान विष्णु पौडेल (विष्णु), भिनाजु श्रीहरि गौतम र गुनाखर अधिकारी संलग्न रहेको पाइएको छ । १ जना भने फरार छन् । हत्याका मुख्य योजनाकार रहेका अधिकारी अनिताका आफन्त होइनन् । उनी श्रीहरि गौतमले हत्या गर्न पठाएका व्यक्ति हुन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/04/anita-paudel-1024x868.jpg)
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक अच्युतम पुडासैनीले हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ गरिएको र लामो समयको गहिरो खोज–अनुसन्धानबाट मुख्य अभियुक्त पक्राउ गर्न सफल भएको दाबी गरे ।
फागुन १० गते मध्यरातमा आफ्नै घरको किचनमा हत्या गरिएकी अन्दाजी २९ वर्षीया अनिता र सो काण्डबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरेको थियो । सो हत्याको प्रमुख कारण पारिवारिक रिसिइबी देखिएको छ ।
अनिताका श्रीमानले दोस्रो श्रीमती विहे गरि भारतमा बसोबास गर्दै आएका छन् । अनिता यहाँको होराइजन इग्लिस् बोडिङ्ग स्कुलमा कार्यालय सहयोगीको रुपमा काम गर्थिन् । विष्णुले अनितालाई हेलाँ गरेर घरबाट भगाउन खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अनिता घर नछाड्ने मनस्थितिमा रहेकी थिइन् । अनिता घरमै बसेर जीवनयापन गर्न चाहन्थिन् । दुई छोराछोरीकी आमा अनिता घरमै बस्ने निधो गरेपछि विष्णुले उनलाई जसरी पनि घरबाट निकाल्न चाहन्थे । जुन कुरा आफ्ना भिनाजुलाई बताएका थिए ।
अनिता विष्णुकै घरमा बसेपछि विष्णुलाई सम्पत्तिको मोह बढेको देखिन्छ । घरको सम्पत्ति कब्जा गरेर अनिता बसेपछि उनको हत्या योजना बन्छ । अनिताका ८ बर्षका छोरा र १२ बर्षकी छोरी रहेकी छिन् ।
अनिता हत्याकाण्डमा जोडिएका दुई जना व्यक्ति अपराधीक पृष्ठभूमिबाट आएका हुन् । मृत्तक अनिताका श्रीमान्ले विष्णुमार्फत आफ्ना भिनाजु श्रीहरि गौतमलाई अनितालाई साइट लगाउनको लागि आग्रह गर्दछन् ।
श्रीहरि पटक–पटक विभिन्न मुद्धामा जेल गएका व्यक्ति हुन् । उनी सामान्य ठेक्कापट्टा गरेर जीविकोपार्जन गर्दै आएको प्रहरीले जनाएको छ । अपराधिक गतिविधिमा संलग्न हुँदै आएका श्रीहरिले विभिन्न माध्यमबाट बुटवल १० चरंगीका गुनाखर अधिकारीलाई भेट्छन् ।
अधिकारी पनि आपराधिक पृष्ठभूमिका व्यतिm हुन् । अपराधी श्रीहरि गौतमले कस्तो व्यतिmलाई प्रयोग गरेर हत्या गर्न सकिन्छ भन्ने कुरा गहिरोसँग बुझेको देखिन्छ । अनुसन्धनमा रहेका एक प्रहरी अधिकृतले भने, ‘अनिता हत्या प्रकरणमा पनि यस्तो भएको छ । सर्पका खुटा सर्पले देखे जस्तै ।’
अधिकारी यसभन्दा अघि ४ बर्ष जेल सजाय काटेका व्यक्ति हुन् । उनले चोरी र डकैती मुद्दामा बुटवल र रामेछाप कारगारमा सजाय भोगेका थिए । प्रहरीका अनुसार श्रीहरिले गुनाखरलाई अनिता र विष्णु बीचको सम्बन्धबारे सबै कुरा बताउँछन् ।
अनितासँगको विवाद जसरी भएपनि सल्टाए ७ लाख रुपैयाँ दिने लोभ देखाउँछन् । त्यसपछि गुनाखरले अनितासँगको विवाद समाधानका लागि आफ्ना कामहरु अगाडि बढाउँछन् । यो बिषयमा बिष्णुलाई सबै थाहा हुन्छ । अनि विष्णुले रकम दिने सहमति दिन्छन् ।
विवाद मिलाउनकै लागि गुनाखरले गत भदौदेखि अनितासंगको चिनजान तीव्र बनाउने गरेको अनुसन्धानबाट पुष्टि भएको छ । धेरै प्रयास गर्दा पनि अनितासँगको विवाद मिल्न नसकेपछि उनको हत्या योजना बन्छ । त्यसपछि उनको हत्या गर्ने निश्कर्षमा उनीहरु पुगेको प्रहरी अनुसन्धानले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक अच्युतम पुडासैनीले अधिकारीलाई २० गते नै पक्राउ गरिएको बताए । पक्राउ परेकाहरुमाथि ज्यान मार्ने उद्योगअन्तर्गत कानुनी प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्