सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ठगीको समाचार लेख्दा पत्रकारमाथी साईवर अपराध

जग्गा विवाद सम्बन्धी समाचार लेखेको आधारमा पत्रकार अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई साइबर अपराध गरेको अभियोगमा सोमबार बिहान ११ बजे पोखराबाट पक्राउ गरी काठमाडौं लगिएको छ ।

व्यवसायी विपीन (विपेन्द्र) बतासले जग्गामा ठगी गरेको समाचार उनले लेखेका थिए । ताण्डव न्युज साप्ताहिक र ताण्डवन्युज डट कममा विपीनको ठगीबारेको समाचार आएको थियो । अर्जुन उक्त न्युज पोर्टल र पत्रिकाका सम्पादक हुन् ।

बतासले दुईजनाबाट ४ करोड २३ लाख रुपैयाँ ठगी गरेको आरोप उनको समाचारमा लगाइएको छ । विपीनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा अर्जुनविरूद्ध साइबर अपराध गरेको भनी उजुरी गरेको आधारमा अदालतबाट पक्राउ पुर्जी जारी गरी कास्की प्रहरीले गिरीलाई सोमबार काठमाडौं लगेको हो ।

विपीनविरूद्ध ठगी बारेको उजुरी कास्की प्रहरीमा परेको छ । अर्जुन सम्पादित अनलाइन र पत्रिका सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता छ । तर दर्ता नभएको आरोप सीआईबीले लगाएको छ ।

पत्रकार गिरीलाई प्रहरीले साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । गिरी नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य पनि हुन् ।

समाचारको विषयमा चित्त नबुझे नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधान लत्याउँदै पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कारबाही चलाउनु आपत्तिजनक भएको महासंघको ठहर छ ।

‘पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि भएको यो हस्तक्षेपले प्रेस स्वतन्त्रता हनन भएको छ’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ सम्पादक गिरीलाई तत्काल रिहाईको माग गर्दै प्रहरीको यस्तो ज्यादतीको घोर भत्र्सना गर्दछ ।’

प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई स्वतन्त्र र निर्भीकतापूर्वक काम गर्ने वातावरण बनाउन महासंघले माग गरेको छ । समाचार लेखेकै आधारमा पटकपटक विद्युतीय कारोबार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम तत्काल रोक्न महासंघले माग गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्