सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रेमिका भेट्न गएका युवकको घाँटी रेटेर हत्या

प्रेमिका भेट्न भनि गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का १९ वर्षीय सुविल बडायकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको छ । पाँच दिनदेखि बेपत्ता भएका सुविलको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सोमबार शव भेटिएको प्रहरीले जनाएको छ ।

कृष्णपुर नगरपालिका–७ स्थित उग्रतारा सामुदायिक वन छेउको नेउरा खोला किनारामा जमिनमा गाडेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय रैकवार बिचवाका प्रहरी नायव निरीक्षक दिल बहादुर कुँवरले जानकारी दिएका छन् ।

‘युवक २८ गतेदेखि बेपत्ता रहेको भनी परिवारका सदस्यले जाहेरी गरेका थिए’ उनले भने, ‘अनुसन्धान गर्दै जाँदा हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको हो ।’

प्रहरीले खोजतलास गर्ने क्रममा सोमबार बिहान कृष्णपुर नगरपालिका–७ बहुलीपट्टीमा बडायकले लगाएको टिसर्टमा रगत लागेको अवस्थामा भेटिएपछि प्रहरीले शंकास्पद दुईजना युवकलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका युवकले नै शव गाडिएको स्थानका बारेमा जानकारी दिएपछि उक्त जङ्गलमा शव गाडिएको फेला परेको हो । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ का १८ वर्षीय अयोध्या राना र सोही ठाउँ बस्ने १७ वर्षीय प्रमोद राना रहेका छन् ।

प्रहरीले अयोध्यालाई कैलालीबाट र प्रमोदलाई उनकै घर पक्राउ गरेको हो । दुवैजनाले बडायकको घाँटी रेटेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । टाउको र शरीर अलग गरिएको अवस्थामा शव गाडिएको भेटिएको हो ।

कृष्णपुर नगरपालिका–८ रैकवार बिचवा घर भएका १९ वर्षीय बडायक २८ गते स्थानीयको विवाहमा सहभागी हुन वडा नम्बर ७ मा आएका थिए । त्यहाँ उनी आफ्नी प्रेमिकालाई भेट्न पुगेको र सोही क्रममा दुई युवकले पहिले कुटपिट गरेको र त्यसपछि बन्चरोले घाँटी रेटेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । ‘हत्याका विषयमा आवश्यक अनुसन्धान अघि बढेको छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिनेश कुमार आचार्यका अनुसार प्रारम्भिक अनुसन्धान हेर्दा प्रेमिकाको विषयलाई लिएर युवकको हत्या गरेको देखिन्छ ।

हत्या गरेको स्वीकार गर्ने अयोध्या राना भने सुविलकी प्रेमिकाका पूर्व प्रेमी रहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । अयोध्या रानाकै प्रारम्भिक बयानबाट यस्तो खुलेको प्रहरीको भनाइ छ । मृतकको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्