सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चट्याङबाट बच्न फलामखानीबासीलाई रक्सीको भरोसा

यो अध्यधिक चट्याङ पर्ने मौसम हो । चट्याङका कारण बर्षेनी दर्जनौ नेपालीको मृत्यु हुने गरेको छ भने पसु चौपाया र अन्य भौतिक क्षति हुँदै आएको छ । यही चट्याङबाट बच्न पर्वतको फलामखानीका वासिन्दाले भने रक्सीको भरोसा गर्ने गरेका छन् ।

जब आकाशमा कालो बादल मडारिदै मेघगर्जन शुरु हुन्छ, तब फलामखानी गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् । वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा त्रसित हुने गरेका छन् ।

बिहान, दिउँसो र साँझ जुनसुकै बेला पनि आकाशमा गड्याङगुडुङ गर्न शुरु गरेपछि घरभित्र छिर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । फलामखानी गाउँमा वर्षेनी चट्याङका कारण एकदेखि तीनसम्मको ज्यान जाने गरेको छ भने पशुचौपायाको समेत क्षति हुने गरेको छ ।

उक्त गाउँ पर्वतको सबैभन्दा बढी चट्याङ पर्ने गाउँको रुपमा परिचितसमेत रहेको छ । विशेषगरी फागुनदेखि जेठसम्म बढी घटना हुने गरेका छन् । अहिलेसम्म झण्डै २० को चट्याङका कारण मृत्यु भइसकेको छ भने घाइतेको सङ्ख्या त्यति नै छ ।

स्थानीय जीतबहादुर विकका अनुसार आकाशमा मेघगर्जन शुरु भएपछि घर वरिपरि मदिरा छर्केर भित्र बस्ने चलन गाउँमा रहेको छ । जीतबहादुरले भनेका छन्– ‘मदिरा छर्केपछि चट्याङ नपर्ने परम्परागत मान्यताका आधारमा मदिरा छर्कने गरेका छौँ ।’ उनले अगाडी भने–‘मदिरा छर्केको दिन चट्याङ नपरेकाले विश्वास गर्ने गरेका छौँ ।’

दलित समुदायको बाहुल्यता रहेको उक्त गाउँमा भूतप्रेत र दैवीशक्तिको पूजामा मदिरा चढाउने प्रचलन रहेको छ । जीतबहादुर विकका अनुसार उक्त मदिरा घर वरिपरि छर्केपछि दैवीप्रकोप हट्ने विश्वासले मदिरा छर्कने गरिएको हो । विकले भने–‘बाबुबाजेको पालादेखि नै यस्तै गर्ने प्रचलन भएर हामीले पनि मेघगर्जन शुरु भएपछि मदिरा चढाउने गरेका छौँ ।’

झण्डै ८० वर्ष अघिसम्म उक्त स्थानमा रहेको फलामखानीबाट फलाम निकाल्ने गरिन्थ्यो । अहिले भने उक्त खानी बन्द रहेको छ । समुद्री सतहदेखि दुई हजार फिटभन्दा बढी उचाइमा रहेको उक्त गाउँ जिल्लाकै सबैभन्दा विकट गाउँसमेत हो ।

अर्का वृद्ध धनबहादुर विश्वकर्माले चट्याङका कारण गाउँमा ठूलो समस्या भएको बताएका छन् । एउटै गाउँमा वर्षेनी चट्याङ पर्नुको कारण पत्ता नलागेको बताउँदै उनले फलामको धाऊ भएर हो वा अन्य कारणले हो भन्ने पत्ता लगाउन सके सुरक्षित हुन सकिने बताएका छन् ।

पछिल्लो समय नेपाल टेलिकम र एनसेलको टावरसमेत निर्माण भएको उक्त गाउँमा चट्याङका घटना झनै बढ्न थालेको स्थानीयवासीले बताएका छन् । वर्षेनी चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि कुनै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन हुन नसकेको स्थानीयवासीको गुनासो छ । यस्तो प्राकृतिक विपत्तिमा पर्नेलाई राज्यले क्षतिपूर्तिसमेत निकै न्यून दिने गरेको पीडितको गुनासो छ ।

वर्षेनी चट्याङको पीडा खेप्न नसकेर गाउँका झण्डै एक दर्जन परिवार बसाइँसराइसमेत गरेका छन् । उनीहरु बसाइँ सरेर स्याङ्जा, पोखरा र नजिकै रहेको स्याङ्जाको घण्टेदेउराली बजारमा गएको स्थानीय रनबहादुर परियारले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्