सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अमेरिकाको क्यारोलिनामा नेपाल दिवस भब्य

अमेरिकाको नर्थक्यारोलाइना राज्यस्थित वेककाउन्टीमा रहेको मोरिसभिल सहरमा गत शनिवार अप्रिल २०, २०१९ का दिन तेस्रो नेपाल दिवस भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ । स्थानीय नेपाल सेन्टर अफ नर्थक्यारोलाइना (एनसीएनसी)को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा क्रियाशील नेपाली मूलका संघसंस्थाहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपालको सांस्कृतिक विविधता झल्किने गरी विभिन्न भेषभुषामा सजिएका करिव एकहजार जति नेपाली मूलका र अन्य समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको पहिलो चरणमा स्थानीय सिडरफोर्क सामुदायिक भवन देखि चर्चस्ट्रिट पार्कसम्म सांस्कृतिक झाँकीसहित परेड प्रस्तुत गरिएको थियो ।

अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुनकुमार कार्की र मोरिस्भिल सहरका मेयर टिजेकलिले संयुक्त रुपमा रिबन काटेर परेडको थालनी गरेका थिए । स्वस्तिवाचन संगै पन्चकन्यालाई अगाडि लगाएर परेड चर्चस्ट्रिट पार्कतर्फ बढेको थियो ।

झाँकीमा नेपालको विविध सांस्कृतिक परिचय झल्कने गरी गौतमबुद्ध, कुमारी, मञ्जुश्री, आदिकवि भानुभक्त आदिको स्वरुपमा सजिएका कलाकारहरूले दर्शकको ध्यान तानेका थिए भने अन्य सहभागीहरूले पनि नेपालको उत्तर देखि दक्षिण र पूर्वदेखि पश्चिमसम्मको विभिन्न परम्परागत जातजातिको प्रतिनिधित्व हुने पोशाकमा सजिएर विविधतामा एकताको संदेश प्रबाह गरेका थिए ।

परेड चर्चस्ट्रिट पार्कमा पुगेपछि नेपाल दिवस २०१९ तथा नेपाली नयाँ वर्ष २०७६ समारोहमा परिणत भएको थियो । राजदुत डा.कार्कीले पानसमा दीप प्रज्वलन गरेर समारोहको उद्घाटन गर्नुभएको थियो । लगत्तै नेपाल सेन्टर अफ नर्थक्यारोलाइनाद्वारा संचालित नेपाली पाठशालाका विद्यार्थीहरूद्वारा शान्ति मन्त्र पाठ, नेपाली र अमेरिकी राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र अमेरिकी सरकारका विभिन्न तहका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए । एनसीएनसीका बोर्ड अफ ट्रष्टी अध्यक्ष तथा नेपाल दिवस कार्यक्रमका सह–संयोजक डा.ठाकुरबाबु कार्कीले मोरिस्भिलमा यसबर्ष लगातार तेस्रो नेपाल दिवस मनाउन लागिएको उल्लेख गर्दै नेपाल दिवसलाई मोरिस्भिल टाउनबाट विधिवत घोषणा गरी स्थापित गराउनको लागि भएका ऐतिहासिक प्रयासहरू स्मरण गराउँदै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।

मोरिसभिल टाउनका मेयर टिजेकलीले आफ्नो सन्देश प्रस्तुत गर्दै नर्थक्यारोलाइनालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा धनि बनाउन नेपाली मूलका समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । साथै उहाँले आफु यस ऐतिहासिक कार्यमा सामेल हुन पाउँदा भाग्यमानी महसुस भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नर्थ क्यारोलाइनाका राज्यकी सेक्रेटरी अफ स्टेट एलेनमार्शलले नर्थक्यारोलाइनामा नेपाली समुदायको पहिचान उच्च रहेको र आफ्नो सांस्कृतिक पहिचान जोगाइ राख्न नेपाल दिवस जस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो । उहाँले दोस्रो पुस्तालाई आफ्नो संस्कृति चिनाउन र अमेरिकालाई गर्वका साथ बहुसांस्कृतिक मुलुक बनाउन यस्तो कार्यक्रमले निक्कै मदत पुग्ने कुरामा जोडदिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले विदेशमा बसेर आ–आफ्नो कर्म गर्दै व्यस्त रहेर पनि नेपाली संस्कृतिको प्रवर्धन गर्नको लागि सामुहिक स्तरमा भएका प्रयासको प्रशंसा गर्दै आयोजक संस्था एनसीएनसीलाई धन्यवाद दिनुभयो ।

उहाँले विदेशमा रहेर नेपाली संस्कृतिको प्रवर्धनको लागि प्रयास गर्ने सबैजना नेपालको सद्भावना दुत हुन् भन्दै गैरआवासीय नेपालीहरूको भूमिका देशको आर्थिक विकासमा मात्रै हैन, हाम्रो सांस्कृतिक विस्तारमा पनि महत्वपूर्ण छ भन्नुभयो ।

उहाँले अमेरिकामा बसोबास गर्ने नेपालीहरुले आफ्नो वृत्तिविकास मात्रै होइन, नेपालको समृद्धि र नेपालको अन्तराष्ट्रिय छवि उज्यालो पार्न पनि महत्वपूर्ण योगदान दिनसक्ने र त्यसतर्फ अँझै लाग्नुपर्ने, त्यसको लागि दुताबास जहिले पनि सहयोगी हुने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा दक्षिण पूर्वी अमेरिकामा छरिएर रहेका नेपालीहरुको साझा संस्था नेप्लिज एसोसिएसन इन साउथ इष्ट अमेरिकाले समाजका विभिन्न क्षेत्रमा काम गर्दै नेपाली समुदायलाई योगदान पुर्याउँदै आउनुभएका चार जना महिलाहरुलाई सम्मानित गरेको थियो ।

सम्मानित हुनेहरुमा नर्थक्यारोलाइनाबाट सुजाता ढुंगेल र डा. सुष्मा प्रधान हुनुहुन्थ्यो भने फ्लोरिडाबाट भारती गौतम तथा जोर्जियाबाट सुजाता डंगोल हुनुहुन्थ्यो । नासियाका अध्यक्ष माधव ढकाल र महिला तथा बालबालिका समितिकी संयोजक रमा घिमिरेले संयुक्त रुपमा सम्मानितहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा लामो समय देखि प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर कलम चलाउदै आएकी स्रष्टा नीलम कार्की निहारिकाको पछिल्लो प्रकाशित उपन्यास ‘योगमाया’ले २०७४ सालको मदन पुरस्कार प्राप्त गर्न सफल भएकोमा नर्थक्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाले संयुक्त रुपमा साहित्यकार निहारिकाको अभिनन्दन गरेको थियो । एनसीएनसीका अध्यक्ष डा.बटु शर्मा, साहित्य समाजका अध्यक्ष लेखनाथ दुलाल र प्रमुख अतिथि राजदुत डा. कार्कीले अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना र सुजन एण्ड परिता एजुकेशन फाउन्डेशनका बीच १,५०० डलर राशिको सुजन एण्ड परिता एजुकेशन फाउन्डेशन स्कलरशिप सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । स्थानीय नेपाली मुलका व्यवसायी सुजन न्यौपानेको संयोजकत्वमा रहेको उक्त फाउन्डेशनले प्रत्येक वर्ष हाइस्कुलका विद्यार्थीहरुलाई सहयोग पुग्ने हेतुले सो स्कलरशिपको स्थापना गरेको हो ।

स्कलरशिपको व्यवस्थापन एनसीएनसीले गर्ने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ । एनसीएनसीका अध्यक्ष डा.बटु शर्माले फाउन्डेशनको सो कदमले समाजका अरुलाई पनि सहयोगी हात अघि बढाउन प्रेरणा मिल्ने मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष डा. बटु शर्माले नेपाल दिवस सम्पन्न गर्न विविध तरहले सहयोग गर्ने संघसंस्था र व्यक्तिहरूलाई धन्यवाद दिंदै मोरिस्भिल टाउन तथा वेक काउन्टीबाट नेपाल दिवसको घोषणा हुनु यहाँ नेपालीको पहिचान स्थापित हुनु हो, यसमा हामी गौरवान्वित छौं भन्नुभयो ।

डा.शर्माले यो एक असल सुरुवात हो, यसले हामीलाई सांस्कृतिक रुपमा अँझै फैलिन मदत गरेको छ र आगामी दिनमा सबैको सहकार्यमा अझ सिर्जनात्मक रुपमा कार्यक्रम आयोजना गर्न सकियो भने यसले नर्थक्यारोलाइनामा नेपालीको भिजिविलिटी बढाउन मदत पुर्याउने र नेपालमा पर्यटन प्रवर्धनमा पनि सहयोगी हुने बताउनुभयो ।

मन्तव्यको कार्यक्रम पछि स्थानीय कलाकारहरूद्वारा नेपाली पहिरनहरुको फेशन सो सहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । प्रस्तुत पहिरन, गीत र नृत्यहरूले दर्शकलाई अमेरिकामा पनि नेपाली मौलिक संस्कृति हेर्न पाउँदा नेपाल नै पुगेको आभास भएको थियो ।

कार्यक्रम स्थलमा नेपाली रेस्टुरेन्टहरुबाट नेपाली खानाको परिकार, नेपाली सामानहरुको बजार साथै व्यापारिक एवं सामाजिक संस्थाहरुको स्टलहरु पनि राखिएको थियो । पहिलो चरणको कार्यक्रम संचालन संस्थाका सचिव विक्रम गौतमले र दोस्रो चरणको कार्यक्रम सुजाता ढुंगेल र योगेन्द्र गौतमले गर्नुभएको थियो ।

दिनभरिको कार्यक्रम पछि साँझ महामहिम राजदुतको सम्मानमा रात्रीभोजको आयोजना गरिएको थियो । उक्त अवसरमा राजदुत कार्कीलाई दोसल्ला ओढाएर उपहारसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS