सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

श्रीमतीले संगै बस्न नमानेपछी एसिड हमला

कालोपुलमा बुधबार राति श्रीमतीलाई एसिड छ्यापेको भनी पक्राउ परेका विष्णु भुजेलले अपराध गरेको स्विकार गर्दै बयान दिएको प्रहरीले जनाएको छ । काभ्रे, धुलिखेलका भुजेललाई प्रहरीले भक्तपुरको काँडाघारीबाट पक्राउ गरेको हो ।

उनले प्रहरीसँगको बयानमा ’श्रीमती सँगै बस्न नमानेपछि त्यही रिसमा एसिड हानेको’ बताएका छन् । मोटरसाइकल ग्यारेजमा काम गर्ने भुजेल र जेनी खड्काको छ वर्षअघि बिहे भएको थियो । उनीहरू दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए ।

दुई वर्षदेखि खड्काले छोरा पनि आफूसँगै हुर्काइरहेकी थिइन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भनेका छन्–‘जति फकाउँदा पनि जेनी सँगै बस्न नमानेपछि अरूसँग सम्बन्ध रहेको शंकामा एसिड प्रहार गरेको भुजेलले बयान दिएका छन् ।’

एसिड प्रहार गरेर भुजेल काँडाघारीको भट्टी पसलमा मादक पदार्थ सेवन गरिरहेका थिए । त्यही बेला प्रहरीले उनलाई पक्राउ गरेको हो । राति सवा ८ बजेतिर बाटोमा हिडिँरहेकी जेनीमाथि एसिड हमला भएको थियो । बोतलमा एसिड भरेर ल्याएका भुजेलले जेनीको टाउकोमा खन्याइदिएका थिए । उनको टाउको र हात जलेको छ ।

उनको ओम अस्पतालमा उपचार भइरहेकोमा त्यहाँबाट कीर्तिपुर अस्पताल रेफर गरेर पठाइएको छ । यसअघि काठमाडौंमा पाँच वर्षअघि संगीता मगर र उनका साथीमाथी एसिड आक्रमण भएको थियो । काभ्रेका जीवन विक एसिड हानेको आरोपमा पक्राउ परेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS