सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग बन्यो

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थल निर्माणको सबैभन्दा महत्वपूर्ण र मूख्य काम धावनमार्ग निर्माण सकिएको हो ।

गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा ३ हजार मिटर लामो धावनमार्ग बनाइएको छ । यस क्षमताको धावनमार्गमा अहिले काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भइरहेकै क्षमताका जहाज उडान–अवतरण गर्न सक्छन् ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको थ्रि डी स्केच

‘हामीले राष्ट्रिय गौरवको आयोजना भैरहवाको मूख्य काम सम्पन्न गरेका छौं,’ अधिकारीले भने, ‘अब बाँकी रहेका अन्य कामले पनि गति लिन्छ ।’ विमानस्थल निर्माणमा एसियाली विकास बैंकले लगानी गरेको छ । राष्ट्रिय गौरवका आयोजनामध्ये अहिले गौतमबुद्ध र पोखरा विमानस्थलको कामले राम्रो गति लिएका छन् ।

प्राधिकरणका अनुसार धावनमार्ग निर्माण सम्पन्न भएसँगै तत्कालका लागि अब आकस्मिक उडान–अवतरणका लागि त्रिभुवन विमानस्थलको विकल्प समेत तयार भएको छ । आयोजना अन्तर्गत अहिले रहेको पुरानो विमानस्थलको धावनमार्गलाई ट्याक्सी वे बनाउने उद्देश्य छ ।

सन् २०१९ भित्रै यस विमानस्थलबाट अन्तराष्ट्रिय उडान थाल्ने योजना सरकारको छ । विमानस्थलअन्तर्गत धावनमार्ग सकिए पनि टर्मिनल भवन, कन्ट्रोल टावर, पानी ट्याङ्की तथा अन्य आवश्यक पूर्वाधार निर्माणको काम भने जारी रहेको प्राधिकरणको भनाइ छ ।

यो आयोजना ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ लगानीमा कार्यानवयन भइहरेको छ । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार यो विमानस्थल ‘फोर इ’ स्तरको विमानस्थल हो ।

वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने लक्ष्यसहित निर्माण भइरहेको यो विमानस्थल निर्माणको जिम्मा चीनको नर्थवेस्ट सिभिल एभिएसनले पाएको छ । यो विमानस्थल डिसेम्बर २०१७ मै सक्ने लक्ष्य भए पनि विभिन्न अवरोधनका कारण जुन २०१९ सम्म सक्नुपर्ने लक्ष्य तोकिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्