प्रहरीको गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु
प्रहरीको गोली लागेर पहिलोपटक विप्लव माओवादीका कार्यकर्ताको मृत्यु भएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते भएका विप्लव माओवादीका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो ।
षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ बर्षिय घिमिरेको तिघ्रामा गोली लागेको थियो । प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि लगिँदै गर्दा उनको बाटैमा मृत्यु भएको सञ्चारमाध्यमलाई बताएका छन् ।
भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै खसेको पहिरोले बाटो अवरुद्ध भएपछि समयमा अस्पताल र्पुयाउन नसकिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले स्पस्टिकरण दिएका छन् ।
केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो ।
गस्तीमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ । प्रहरीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेको छ ।
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिँदै आएको छ । केही स्थानमा मुठभेडसमेत भएका छन् । तर, ज्यान नै गएको घटना भने यो पहिलो हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्