फुटवेयर विजनेश एक्स्पो भृकुटी मण्डपमा शुरु
नेपाली जुत्ता घरको आयोजनामा आजदेखि भृकुटी मण्डपमा जुत्ता मेला शुरु भएको छ । नेपालको एक मात्र जुत्ता बिशेष पसल नेपाली जुत्ताघरको आयोजनामा शुरु भएको यस मेलाको समुद्घाटन माननीय मन्त्री गगन कुमार थापाले गर्नुभएको थियो । सो अवसरमा मन्त्री थापाले सरकारले फुटवेयर सेक्टरलाई लक्षित गरि कच्चा पदार्थ निर्यात एवं कच्चा पदार्थ उत्पादनको क्षेत्रमा सहयोग गर्न सके मात्र पनि यस उद्योगले ठुलो फड्को मार्ने र सो बाट राज्यले समेत ठुलो राजश्व आर्जन गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा मन्त्री थापाले छाला रहित मासु मात्र बिक्रि वितरणमा राख्ने व्यवस्था लागु गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली जुत्ता घरका संयोजक रामकृष्ण प्रसाईले नेपाली जुत्ता उद्योगहरुबाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु बिशेष छुट र सहुलियत मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाई आगामी दिनमा तयारी जुत्ता चप्पलहरुको आयातलाई न्युनिकरण गर्न सहयोग पुर्याउनु नै यो एक्स्पोको प्रमुख उद्धेश्य रहेको बताउनुभयो ।
सो कार्यक्रममा नेपाली जुत्ता घरका सञ्चालक होमनाथ उपाध्यायले फुटवयर सेक्टरको वर्तमान अवस्थाको बारेमा चर्चा गर्दै राजनीतिक अस्थिरताले मुलुकको आर्थिक क्षेत्र जर्जर भैरहेका बेला जुत्ता उद्योगीहरुको यस्तो सामुहिक प्रयासले अर्थतन्त्रलाई केहि हदसम्म चलायमान बनाउने कोशीस गरेको बताउनुभयो । कार्यक्रममा नेपाली जुत्ता घरका सञ्चालक एवं फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष रविन श्रेष्ठ, सञ्चालकहरु कृष्ण कुमार फुँयाल, मनोज श्रेष्ठ, ज्ञानेन्द्र दाहाल, नवराज गौतम लगायतको उपस्थीती रहेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्