करिब ८ करोड भारुसहित युनुस ग्याङ पक्राउ
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब आठ करोड भारतीय नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् । विमानस्थलका सुरक्षा प्रमुख सन्दीप भण्डारीले सात करोड ७६ लाख ९४ हजार नक्कली भारुसहित शुक्रबार दिउँसो ६ जना पक्राउ परेको पुष्टि गरेका हुन् ।
पक्राउ पर्नेमा कतारको दोहाबाट रकम लिएर आएका तीन पाकिस्तानी नागरिक र पैसा रिसिभ गर्न विमानस्थल पुगेका तीन जना नेपाली रहेका छन् । पाकिस्तानी नागरिक नासिर उद्धिन, नादिया अनवर, महमद अक्तरलाई विमानस्थल प्रहरी र भन्सारले पक्राउ गरेको हो ।
रकम रिसिभ गर्न विमानस्थल पुगेका युनुस अन्सारी, सोयर खान र सुजन रानाभाटलाई नेपाल प्रहरीको विशेष ब्युरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अन्सारी पटकपटक जाली नोट प्रकरणमा पक्राउ पर्दै रिहा हुँदै आएका व्यक्ति हुन् ।
तीन पाकिस्तानीले विमानस्थलसम्म ल्याएको नोट लिन शुक्रबार उनै अन्सारी विमानस्थल पुगेका थिए । विगतमा टेलिभिजन सञ्चालनमा समेत संलग्न रहेका अन्सारी शुक्रबार प्रतिबन्धित भारु दुई हजारका नोट नेपाल भित्र्याउने क्रममा पक्राउ परेका हुन् ।
रकम लिएर आउने पाकिस्तानी नागरिक तीन र रकम लिन विमानस्थल पुगेका अन्सारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । नक्कली नोट र लागुऔषध ओसारपसार गरेको अभियोगपछि चार वर्ष कैद सजाय काटिसकेका अन्सारी पटकपटक पक्राउ पर्दै छुटेका थिए ।
अन्सारी पहिलो पटक २०६५ मा त्रिपुरेश्वरबाट २५ लाख भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए । नक्कली नोट कारोबारपछि जेल पर्दासमेत उनले नक्कली नोट मगाउने गरेको रहस्य खुलेको थियो ।
उनी कारागारमै हुँदा उनकै सेटिङमा २०६७ मा ४० लाख बढी नक्कली नोटसहित एकजना पक्राउ परेका थिए । अन्सारीमाथि २०६७ फागुन २६ गते केन्द्रीय कारागारभित्रै गोली प्रहार भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्