ट्रम्पसँग वार्ता असफल भएपछी ५ लाई मृत्युदण्ड
उत्तरकोरियाली शासक किम जोङ ऊनले आफ्ना ५ जना उच्च अधिकारीलाई मृत्युदण्ड दिएका छन् । गत फेबु्रअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनाममा भएको किमको दोस्रो शिखर वार्ता असफल भएपछि क्रुद्ध भएका उनले वार्ताका लागि वातावरण बनाउने र सहयोग गर्ने आफ्ना अधिकारीहरुलाई मृत्युदण्डको सजाय दिएका हुन् ।
दक्षिण कोरियाको अखबार ‘चोसन इल्बो’ ती अधिकारीहरुलाई फायरिङ स्क्वायडले गोली ठोकेर मृत्युदण्ड दिएको समाचार लेखेको छ । यसरी मारिनेमा उत्तरकोरियाका अमेरिकास्थित विशेष प्रतिनिधि किम होक चोल पनि परेका छन् ।

चोलले डोनाल्ड ट्रम्पसँगको बैठक तय गर्ने जिम्मेवारी लिएका थिए । तर वार्ता असफल भएपछि रिसाएका किमले चोलले आफूलाई धोका दिएको भन्दै मृत्युदण्ड दिएका हुन् । भियतनाममा भएको शिखर वार्तामा चोल पनि साथमै थिए ।
मृत्युदण्ड पाउनेमा किम सरकारका विदेश मन्त्रालयका ४ जना अधिकारी पनि रहेका छन् । उनीहरु सबैलाई गत मार्चमा उत्तरकोरियाको मिरिम विमानस्थलमा गोली ठोकेर मृत्युदण्ड दिइएको भनेर चोसन इल्बोले लेखेको छ ।

उनीहरुलाई वार्ता असफल भएलगत्तै किमले धम्की दिएको समेत बताइएको छ । विदेश मन्न्त्रालयका अधिकारीमाथि अमेरिकाका लागि जासुसी गरेको बताइएको छ ।
किमले आफ्नो भाषा ट्रान्सलेटको जिम्मा पाएका शिन हो योंगलाई समेत सजाय गरेका छन् । उनले ट्रम्प र किमबीचको भेटवार्ताका बेला लेखिएको प्रस्ताव पत्रको भाषा ट्रान्सलेट गरेका थिए । साथै आफ्नै बहिनी पर्नेमाथि पनि झुटो बोलेको भनेर उनले सजाय दिएको अखबारले लेखेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्