सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

दुबईमा एक नेपाली हालसम्मकै ठुलो साईबर अपराधमा

दुबईमा साइबरक्राइमको मुद्दामा त्यहाँको संभवतः अहिलेसम्मकै सबैभन्दा ठूलो मुद्दामा एक नेपाली दण्डित भएका छन् । उनलाई दुबई अदालतले पाँच लाख दिराम (करिब डेढ करोड नेपाली रुपैयाँ) जरिवाना सुनाएको छ । एक भारतीयसित मिलेर आफैंले काम गरेको कम्पनीको इलेक्ट्रोनिक सिस्टम ह्याक गरेको अभियोगमा उनीहरुलाई उक्त सजाय सुनाइएको हो ।

प्रहरीले पक्राउ परेका नेपालीलाई जि.एस. र भारतीयलाई सि.एन. नाम दिएको छ । जिएस उक्त कम्पनीका म्यानेजर थिए भने सिएन सेल्सम्यान थिए । न्यायाधीश उर्फान ओमारले दुवैलाई पाँच-पाँच लाख दिराम जरिवाना तोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसका साथै दुबैलाई एक वर्ष जेल सजाय पनि दिइएको छ ।

‘उनीहरुको सजाय भोगिसकेपछि आफ्नो देशमा फिर्ता पठाइने छ,’ न्यायाधीश ओमारले भनेका छन् । पीडित कम्पनीका निर्देशकले अदालतमा बयान दिँदै आफूलाई एउटा कार्यालयबाट इमेल आएको जनाएका छन् ।

‘हाम्रो कम्पनीसित काम नगर्न अनुरोध गर्दै अज्ञात स्रोतबाट सो कार्यालयमा इमेल गएको रहेछ,’ उनले भनेका छन्, ‘उनीहरुले हाम्रो कम्पनीको अन्य ग्राहकहरुसित राम्रो रेकर्ड नरहेको भन्दै कम्पनीको प्रतिष्ठालाई धुमिल बनाउने प्रयास गरेर धेरैतिर इमेल गरेका रहेछन् ।’

त्यसपछि आन्तरिक अनुसन्धान गर्दा कम्पनीभित्रकै व्यक्तिले त्यहाँको इ-सिस्टम ह्याक गरी सूचनाहरु चोरेको पत्ता लागेको थियो । कम्पनीका गोप्य डाटाहरु कपि र पेस्ट गरेर उनीहरुका प्रतिस्पर्धी कम्पनीलाई पठाइएको पनि पाइएको छ । प्रहरीले नेपाली युवा जिएसलाई पक्राउ गरिसकेको छ । गल्फ न्युजका अनुसार उनले आफ्नो फैसलामाथि १५ दिनभित्र पुनरावेदन गर्न पाउने छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS