चौकी आक्रमण गर्ने पार्टीको नीति छैनः प्रकाण्ड
प्रहरी चौकीमाथी आक्रमण गरेको भन्ने समाचार सार्बजनिक भएपछी घटनाबारे आधिकारीक धारणा राख्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित माओवादी समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको दाबी गरेका छन् ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रकाण्डले गएराति सोलुखुम्बुमा विप्लव समूहका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेको विषयको खण्डन गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारवाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

उनले प्रहरी चौकी आक्रमणको कुनै घटना नभएको दाबी गर्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप ‘फेक न्युज’ सार्वजनिक गराइएको पनि दाबी गरेका छन् ।
यसअघि गएराति सोलुखुम्बुको विकट क्षेत्र छेस्कामा प्रहरी चौकी आक्रमणको प्रयास भएको भन्ने समाचार सार्वजनिक भएको थियो । प्रहरीले भने थप सुरक्षाका लागि विपदको टोली हेलिकोप्टरमार्फत सोलुखुम्बु क्षेत्रमा पठाइसकेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्