सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बाईबल बाँड्ने अस्पतालमा शिवसेनाको छापा

शिवसेना नेपालले शनिबार गोदावरी नगरपालिकामा रहेको आनन्द वन अस्पतालमा छापामार शैलीमा पसेर कागजात कब्जा गरेको छ । बिरामीको निःशुल्क उपचार गर्ने बहानामा जबर्जस्ती इसाई धर्म प्रचार र परिवर्तन गराएको आरोपमा अस्पतालका कागजपत्र कब्जा गरेको शिवसेना नेपालका केन्द्रीय अभियन्ता मनोज सापकोटाले बताएका छन् ।

नेपालका मौलिक रैथाने धर्मसंस्कृति बचाउने अभियानमा लागेकाले यस्ता गतिविधि बढ्न नदिने पनि उनले चेतावनी दिएका छन् । सो अस्पताल द लेप्रोसी मिसन नामको गैरसरकारी संस्थाको सहयोगमा सञ्चालित छ । राजा महेन्द्रको पहलमा स्थापित अस्पतालमा दीनदुःखीलाई प्रलोभनमा पारेर धर्मप्रचार गरेको आरोप शिव सेनाले लगाएको छ ।

शिव सेना नेपालको टोलीले बिरामीका शैयाबाट बाइबल निकालेका थिए । ‘कम्तीमा ३० बाइबल जलायौं’, शिव सेना नेपालका अभियन्ता मनोज सापकोटाले भने, ‘नेपालमा यस्ता गतिविधि हुन दिँदैनौं ।’ उनले कुनै रिसइबी वा वैरभावले यस्तो नगेको दाबी गरेका छन् । पाल्पा, रुकुम, रोल्पा लगायत जिल्लाबाट पनि इसाई धर्मप्रचारको गुनासो आएको उनले बताएका छन् ।

बिहानबेलुका बिरामी र स्टाफलाई प्रार्थना गर्न लगाउने तथा बाइबल पढ्नैपर्ने नियम अस्पतालमा भएको आरोप पनि सापकोटाले लगाएका छन् । अस्पताल प्रशासनले भने आरोप सत्य नभएको बताएको छ । प्रशासन प्रमुख शेरबहादुर गुरुङले बिदाको दिन अकस्मात् प्रवेश गरेर स्टाफ र बिरामीलाई दुव्र्यवहार गरेको बताएका छन् ।

‘को आएर यस्तो गरे हामीलाई जानकारी छैन’, उनले भने, ‘उनीहरूले केवल भ्रम फैलाएका छन् ।’ अस्पताल स्थापना हुँदा नै मिसिनरी क्रियाकलाप गर्ने भनेर जिल्ला प्रशासन कार्यालय तथा समाज कल्याणमा जानकारी गराइएको उनले बताएका छन् । डाक्टर र नर्सले बिहान प्रार्थना गरे पनि बिरामीलाई त्यसो नगराएको उनको भनाइ छ । उनले भने, ‘हामी धर्म परिवर्तन र धर्मप्रचारमा लागेका छैनौं ।’

कुष्ठ प्रभावितको निःशुल्क उपचार गरिरहेको अस्पतालले ४० रुपैयाँ शुल्कमा अन्य बिरामीको पनि उपचार गर्दै आएको गुरुङले बताएका छन् । नेपाल लगायत भारतका विभिन्न ठाउँबाट बिरामी उपचारका लागि आउने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रेमराज जोशीले मुलुकी फौजदारी अपराध संहिताको दफा १५८ ले कसैले, कसैको धर्म परिवर्तन गराउन दुरुत्साहन गर्न नहुने तथा कुनै प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन नमिल्ने उल्लेख भएको बताएका छन् ।

‘कसुर गरे ५ वर्ष कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ’, उनले भने, ‘अब छिटै अनुगमनमा जाने छौं ।’ अस्पताल प्रशासनले धर्मसम्बन्धी कुनै पनि सामग्री र बाइबल नराख्ने र भएका हटाउने बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS