सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विप्लव माओवादीका पक्षमा नेता जनार्दन शर्मा

नेकपाका नेता जनार्दन शर्माले कुनैबेला एउटै मोर्चामा रहेर काम गरेका विप्लव नेतृत्वको माओवादीको पक्षमा मुख खोलेका छन् । शर्माले नेत्रविक्रम चन्द ’विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको घटना गम्भीर भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेता शर्माले यस्तो बताएका हुन् । संविधान हुँदाहुँदै यसबाट बाहिर गएर निर्ममतापूर्वक पौडेलको हत्या हुनु खेदजनक रहेको भन्दै उनले आपत्ती जनाएका हुन् ।

उनले भने,’ निर्मम ढंगले हात खुट्टा छियाछिया पारेर हत्या गरिएको भन्ने सुन्नमा आएको छ । मलाई त्यो बेला धनमायाको हत्याको याद आयो ।’ पञ्चायतकालमा बर्बरतापूर्वक हत्या भएको याद आयो ।’

नेता शर्माले यस्तो प्रवृत्तिलाई बेलैमा कारबाही नगर्दा परिवर्तित व्यवस्थाप्रति नै प्रश्न उठ्न सक्ने बताएका छन् । उनले निलम्बित सांसद रेशम चौधरीलाई नेल लगाएर उपचार गरेकोमा पनि आपत्ती जनाएका थिए ।

उनले भने, ‘यी जुन घटना भइरहेका छन् यसलाई संघीय गणतन्त्रसँग जोडेर मास भड्काउने काम भइरहेको छ । यसमा सरकारको ध्यान जाओस् । उनले लोकसेवाको विज्ञापनमा पनि मास भड्काउने काम भएको दाबी गरेका छन् ।

शर्माले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीलाई तत्काल बोलाएर पौडेलको हत्या विषयमा जवाफ माग्नुपर्ने माग गरेका छन् । यस्तै, समिति सदस्य दिलेन्द्र बडूले प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै विषयलाई पनि व्यवस्था परिवर्तनसँग जोडेको भन्दै आपत्ती जनाएका छन् ।

‘प्रधानमन्त्रीले जे सुझाव दिन खोज्दा पनि व्यवस्था परिवर्तनलाई उल्ट्याउन खोजियो भनेर आरोप लगाउनुहुन्छ,’ बडूले भने,‘गुठी विधेयक फिर्ता लिँदा पनि गलत व्याख्या भयो भनेर भन्नुभयो । यसले वातावरण खल्बल्यायो । प्रधानमन्त्रीले परामर्श लिनुपर्ने भयो भनेर फिर्ता गरेको भए सहज हुनेथियो ।’

यस्तै, सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै समिति सभापति शशी श्रेष्ठले यस विषयमा समिति गम्भीर भएको बताइन् । उनले सोमबार गृहमन्त्री रामबहादुर थापालाई विपद् व्यवस्थापनको विषयमा छलफल गर्न बोलाइएकाले यही क्रममा पौडेल हत्याका बारेमा पनि सोधिने स्पष्ट पारिन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्