सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पैसा र प्रेम श्रृंखलाबद्ध हत्याको मुख्य कारण

माइक्रो फाइनान्सको किस्ता तिर्ने मिति नजिकिदै थियो । तर, पाँचथरको हिलिहाङ ६ का १९ वर्षीय घनेन्द्र लावती र उनको परिवारसँग किस्ता तिर्ने पैसा जुटेन । पैसा अभावमा उनी र उनको परिवार समस्यामा थियो ।

मंगलबार गाउँमा एनएमबी माइक्रो फाइनान्सको लगानी रहेको दुई समूहमा फाइनान्सले बैठक बोलाएको थियो । बैठकमा एनएमबी माइक्रो फाइनान्स गोपेटार शाखाकी कर्मचारी सुजाता तामाङ पैसा संकलन गर्न गएकी थिइन् ।

समूहबाट उनले पैसा संकलन गरेर कार्यालय फर्कदै गर्दा उनको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर नरेन्द्र कुँवरका अनुसार पैसा बोकेर कार्यालय फर्कने क्रममा हिलिहाङ ६ स्थित जंगल बीचमा पर्ने खोल्सामा उनको हत्या भएको थियो ।

हत्यापछि उनीसँग भएको ८१ हजार ७० रुपैंया लुटिएको थियो । सुजताले पैसा बोकेर कार्यालय फर्कदै गरेको थाहा पाएका लावतीले पैसा लुट्ने उद्देस्यले धारिलो हतियार बोकेर बाटो ढुकेको खुल्न आएको छ ।

‘पैसाकै लागि सुजताको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, इन्स्पेक्टर कुँवर भन्छन्, ‘सुजताले पैसा बोकेको लावतीलाई थाहा नभएको भए उनको हत्या नहुन सक्थ्यो ।’

वैशाख २९ गते हिलिहाङ ४ कात्तिकेकी १५ वर्षीय किशोरी सीतल योङहाङको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । हत्यामा संलग्न फाल्गुनन्द गाउँपालिकाका पदम तामाङलाई २० दिनपछि प्रहरीले झापाको दमकबाट पक्राउ र्गयो । पक्राउ परेपछि प्रहरीसँग बयानका क्रममा तामाङले प्रेममा धोका खाएपछि सीतलको हत्या गरेको स्विकारेका थिए ।

‘प्रेममा खटपट भएपछि पदम तामाङले सीतलको हत्या गर्ने योजना बनाएको पाइयो’, कुँवरले भने, ‘हत्या हुनुभन्दा एक महिना अघिदेखि सीतल र पदमको प्रेममा खटपट सुरु भएको रहेछ । उनीहरु एक महिना अघिदेखि सम्पर्क विहिन भएका रहेछन् ।’

जेठ ६ गते राति मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा एउटै पारिवार भित्रका नौ जनाको कारुणिक हत्या भएको थियो । बमबहादुर फियाकका छोरी ज्वाइँ र नातिनीको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । प्रहरी अनुसन्धानले फियाककै कान्छा ज्वाइँ मानबहादुर माखिमले नौ जनाको हत्या गरेको पुष्टि र्गयो ।

अनुसन्धानमा ससुरा बमबहादुर र कान्छा ज्वाइँ मानबहादुरबीच आर्थिक लेनदेनमा कुरा नमिलेपछि किचलो सुरु भएको खुलेको थियो । सुसरा बमबहादुरले मानबहादुरलाई विदेश जान दिएको पैसा ज्वाइँले फिर्ता नगरेपछि ससुरा ज्वाइँको परिवारमा तित्तता बढेको प्रहरीले जनाएको छ ।

‘आर्थिक किचलोकै कारण ससुरा ज्वाइँको परिवारमा किचलो सुरु भएको पाइयो’, पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तिले भने, ‘किचलो बढेपछि मानबहादुरकी श्रीमती मनकुमारी फियाकले सम्बन्धविच्छेदको मुद्धा दर्ता गरेकी पाइयो । पैसाका कारण ससुराली र श्रीमतिसँगको सम्बन्ध बिग्रिएपछि माखिमले हत्याकाण्ड मच्चाएको देखिएको छ ।’

जिल्लाको तीन वटा हत्या प्रकरणलाई अनुसन्धान गर्दा प्रेम र पैसाका कारण हत्या भएको पाइएको हो । हत्यामा संलग्नको बयानका आधारमा उक्त कुरा पुष्टि भएको प्रहरीले दाबी गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्