रक्सी खाएर चलाएको कार भयानक दुर्घटना
काठमाडौंको जमलमा एउटा कार भयानक दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो ।
ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भनेको छ । यद्यपि यो दुर्घटनामा मानवीय क्षति भने भएको छैन । दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् ।
कारमा तीन जना रहे पनि सबै सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक हुन् । उनको खुट्टामा सामान्य चोट लागेको छ ।
दरबारमार्ग प्रहरी वृत्तका इन्सपेक्टर फलबहादुर तामाङले भने–‘चालकले मापसे गरेर कार चलाएका कारण दुर्घटना भएको पाइएको छ । भयानक खालको दुर्घटना भए पनि कारमा सवार सबै सकुसल छन् । कारको इञ्जिन कामै नलाग्ने गरी पुरै बाहिर निस्केको छ ।’
उक्त कार गलत लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा जोतिएको छ । दुर्घटनाको तस्वीर हेर्दा कारको इन्जिन सडकमै उछिट्टिएको देखिन्छ र फुटपाथको रेलिङ भाँच्दै उत्तानो परेर पल्टिएको छ ।
दुर्घटनाको क्रममा कारको ठक्करबाट सडक किनारमा रोकि राखेको एक पर्यटक माइक्रोमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्