सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

परपुरुषसँगको सम्बन्ध जोगाउन आमाको हत्या

जीवन साथीको अनुपस्थितिमा जैविक आवश्यकताले जन्माएको विवाहेत्तर सम्बन्ध बाध्यता वा जीवन साथीसँगको असन्तुष्टि ? या, नयाँ यौन पार्टनरको खोजी ? यस्तै बाहानामा मानिसहरु विवाहेत्तर सम्वन्धमा रमाउन पुग्छन् । तर नेपाली समाजमा यस्तो सम्बन्धलाई अवैधानिक र अनैतिक मानिन्छ ।

अनि, त्यही अवैधानिक र अनैतिक सम्बन्ध लुकाउने नाममा मानिसहरु अपराध कर्मतिर लाग्छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीकी ईश्वरी भट्टराईलाई पनि यही विवाहेत्तर सम्बन्धले ‘ज्यानमारा’ बनाएको छ, त्यो पनि आफूलाई जन्म दिने आमाको ।

२७ वर्षीया ईश्वरीले सोनाम थापा मगरसँग बिहे गरेकी थिईन । नौ वर्षअघि बैबाहिक सम्बन्धमा बाँधिएका उनीहरुको एक छोरा पनि छ । घरगृहस्थी चलेकै थियो । ईश्वरीले गार्मेट कारखानामा काम पनि गरिन् । त्यही क्रममा उनी सिरहाका मोहमद नौसादसँग नजिकिइन् ।

उनीहरुको सम्बन्ध यति घनिष्ठ भयो कि गार्मेन्टको काम छोडेपछि पनि नौसाद बाँसबारीस्थित ईश्वरीको घरसम्मै आउन थाले । ईश्वरीका श्रीमान सोनाम एयरपोर्ट अगाडि होटल गर्थे, त्यसैले पनि नौसादलाई ईश्वरीको घरसम्म आउन सहज भयो होला ।

ईश्वरीकी आमा साबित्री थापा सिन्धुपाल्चोकबाट बेलाबेला छोरीज्वाइँ कहाँ आइरहन्थिन् । त्यही क्रममा उनले छोरीको विवाहेत्तर सम्बन्धबारे थाहा पाइन् । सावित्रीले एकपटक त घरसम्म आएका नौसादलाई कुचोले हानेर लखेटेकी पनि थिइन् । छोरीको घरबार भाँडिने देखेपछि उनले ज्वाइँ सोनाम थापा मगरलाई सबै कुरा भनिदिने भन्दै सचेत गराइन् ।

आफ्नी छोरीलाई छाड्न र विदेश जान भन्दै सावित्रीले नौसादलाई १ लाख रुपैयाँ पनि दिइन् । नौसाद ९ जेठमा यूएई पनि पुगेका थिए तर, अर्कै योजना बन्यो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाकाअनुसार यूएई पुगे लगत्तै सामाजिक सञ्जालमार्फत दुई जनाबीच कुराकानी हुनथाल्यो ।

उनीहरु विवाह गर्न चाहन्थे तर, त्यसका लागि आमा तगारो बनेको माने । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थापाले भनेका छन्–‘आमा रहुञ्जेल विवाह हुन नसक्ने निष्कर्ष निकालेर दुई जनाले हत्याको योजना बनाएको देखिन्छ ।’ नौसाद एक्लैले सावित्रिको ज्यान लिन नसक्ने बताएपछि भारतबाट दुई जना कन्ट्राक्ट किलर प्रयोग गर्ने उपाय निकाले ।

नौसाद १० असारमा सुटुक्क यूएईबाट फर्किए । कन्ट्राक्ट किलर खोज्न १२ गते भारततिर लागे । अर्जुनकुमार भनिने भोलाकुमार र मोहम्मद रसिदलाई लिएर १४ गते नेपाल आए । त्यतिन्जेल ईश्वरीले सीम कार्डको जोहो गरिसकेकी थिइन् ।

साबित्री हत्याको अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्–‘दिदीको नागरिकताबाट सीम कार्ड निकालेर पहिल्यै दिएकी रहिछिन् । नेपाल आएपछि आमाको ज्यान नलिँदासम्म भेटघाट र कुराकानी पनि नगर्ने योजना रहेछ ।’

ईश्वरीकै संलग्नतामा सावित्रीको हत्या गर्ने योजना बनेकाले उनीहरुलाई सूचनाको कुनै अभाव भएन । पछिल्लो पटक सावित्री करिव एक महिना अघि छोरीज्वाइँ कहाँ आएकी थिइन् । त्यही बेला उनको हत्या गर्ने योजना बन्यो ।

घटना घटाउने दिन ईश्वरी घरमा नबस्ने योजना भएकाले उनी आइतबार विहानै तीन वर्षको छोरा लिएर दिदीकहाँ जान्छु भन्दै हिँडिन् । सोनाम पनि होटलतिर लागे । त्यही मौकामा करिब साढे १० बजे तीन जना घरमा पगेको प्रहरी अनुसन्धानले देखाएको छ ।

सावित्राले नौसादलाई चिनिन् । छोरीको घरबार भाँडिएन भनेर ढुक्क भएर बसेकी उनले नौसादलाई केही भन्न नपाउँदै उनको मुख थुने । अर्जुनले हात समाएको र रहिशले घाँटी रेटेर हत्या गरेको बयान नौसादले दिएका छन् । घटनामा प्रयोग भएको चक्कु अर्जुन र रहिशले नै ल्याएका थिए ।

घटनापछि भागेर धादिङको गजुरी पुगेका नौसाद साँझ ७ बजे प्रहरीको फन्दामा परे । लगत्तै, सावित्रीको हत्या योजनामा उनकै छोरी ईश्वरीको संलग्नता खुल्यो । उनैले १२ लाखमा दुई जना व्यक्ति हत्यामा खटाइएको पनि खुलाइदिए ।

प्रेमी पे्रमिकाले भाडामा प्रयोग गरेका दुई अपराधी पनि भागेर सीमा काट्ने तयारीमा थिए । तर, अपराध महाशाखाको प्राविधिक विश्लेषणका आधारमा उनीहरु मकवानपुरमा देखिए र सोमबार बिहान पक्राउ परे । उनीहरुको साथबाट घटनामा प्रयोग भएको चक्कु पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नौसाद पक्राउ पर्जुअघिसम्म ईश्वरीले आमाको हत्या भएको भन्दै बिलौना मात्र गरेकी थिइनन्, हत्यारा पक्राउ गर्न माग गर्दै आएकी थिइन् । तर नौसाद पक्राउ परेपछि उनले आफ्नो अपराधकर्म स्वीकार गरेकी छन् ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार कन्ट्राक्ट किलरले नौसादसँग मोटो रकम माग गरेका थिए । तर, ईश्वरीले त्यसको चिन्ता नगर्न भनेको नौसादले बताएका छन् । नौसादले प्रहरीसँग भनेका छन्–‘काम फत्ते भएपछि पैसा दिने कुरा भएको थियो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS