सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ईटली हिँडेका सन्तोषको लिवियामा गयो ज्यान

सुन्दर भविष्यको कल्पनामा युरोपिएन मुलुक इटलीका लागी हिँडेका एक नेपाली युवा युद्धग्रस्त मुलुक लिवियामा भएको हवाई आक्रमणमा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका २७ वर्षीय सन्तोष श्रेष्ठको रात्रि आक्रमणमा परी ज्यान गएको त्रिपोलीस्थित अन्तराष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

आक्रमणमा परी नेपाली युवा सन्तोष श्रेष्ठसहित ४० जनाको ज्यान गएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । मानव तस्करको फन्दामा परी युरोपेली मुलुक इटालीका लागि काठमाडौंबाट यात्रा तय गरेका २७ वर्षीय सन्तोष श्रेष्ठको त्रिपोलीमा बुधबार भएको आक्रमणमा ज्यान गएको हो ।

पूर्वी त्रिपोलीको तजौरा शिविरमा रहेका उनलाई नेपाल पर्काउने पहल भइरहेको अवस्थामा आक्रमणमा परी निधन भएको दूतवासले जनाएको छ । लिबियामा युद्ध चर्किएपछि घरबार विहीन बनेकाहरूलाई त्यहाँबाट विभिन्न मुलुकमा शरणको लागि पठाइरहेको अवस्थामा त्यही मुलुक भएर युरोप लाने सपना देखाउँदै मानवतस्करले नेपाली युवालाई त्यहाँ र्पुयाइरहेका छन् ।

मानव तस्करको चङ्गुलमा परेर सन्तोष पनि अफ्रिकी महादेश हुँदै युरोप जान हिँडेका थिए । त्रिपोलीस्थित अन्तराष्ट्रिय आप्रवास संगठन (आईओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले बुधबार राति पठाएको जानकारीमा उल्लेख छ, ‘असार १७ गतेको रात्रीकालीन आक्रमणमा परी नेपाली युवा श्रेष्ठसहित विभिन्न स्थानका शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ ।’

नेपाली मृतकका बारेमा थप विवरण प्राप्त नभएको दूतावासले बताएको छ । उनका बाबुको नाम सोमप्रसाद र आमाको नाम सुन्तली भन्नेसम्म जानकारी आईओएमबाट आएको र नेपालमा परिवारलाई सम्पर्क गर्ने कार्य भइरहेको पनि दूतावासले जनाएको छ । श्रेष्ठको नेपालको ठेगाना पत्ता लगाउने पहल भइरहेको दूतावासले जनाएको छ ।

आइएमओले श्रेष्ठलाई उद्धार गरी घर फर्काउने पहल गरेको दुई दिनमा नै आक्रमणमा निधन भएको हो । श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन यात्रासम्बन्धी कागजात मिलाउन भन्दै आईओएमले नेपाली दूतावासलाई पत्राचार गरेको राजदूत छविन्द्र आर्यालले जानकारी दिएका छन् ।

युरोपको सपना देखेर लिबिया पुगेका नेपालीलाई यसअघि पनि उद्धार गरी नेपाल फर्काइएको थियो । बुधबार मात्रै टर्किस एअरलाइन्सबाट ८ नेपालीलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ । ६ जना नेपालीलाई स्वदेश फर्काउने कार्य अघि बढेको दूतावासको कार्यबाहक जिम्मेवारी समेत सम्हालिरहेका उपप्रमुख सुजन विडारीले जानकारी दिएका छन् । उनीहरू आईओएमको शिविर त्रिपोलीमा नै छन् ।

त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनाले विशेष सहयोग गरिरहेको र उनीहरूसँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको दूतावासले जनाएको छ ।

दुई महिना अघिमात्र लामो पहल र प्रक्रियापछि द्वन्द्वग्रस्त लिबियाबाट २६ नेपाली युवालाई उद्धार गरी काठमाडौं फर्काएको थियो । फर्किएका नेपालीमार्फत् मानव तस्करसम्म पुगेर कारबाही गर्न आवश्यक रहेको सुझाव दूतावासले दिएको भएपनि त्यसमा काम अघि बढ्न नसक्दा तस्करको संजालले यसरी नेपालीलाई प्रलोभनमा पारेर अलपत्र पार्ने गरेका हुन् ।

लिबियाबाट इटाली जान सहज रहेकै कारण इटाली पुग्ने प्रलोभनमा नेपाली युवा अलपत्र पर्ने, लाखौँ रकम गुमाउने र मृत्यु समेत बरण गर्न परेको भन्दै यसमा सुरक्षा संयन्त्र सक्रिय रहनुपर्ने सुझाव समेत दूतावासले दिएको छ ।

मानव तस्करहरूले नेपालबाट यस्ता युवालाई ठूलो प्रलोभन देखाएर अफ्रिकी महादेश हुँदै युरोप र अमेरिका र्पुयाउने गरेका छन् । यसमा प्रहरीले अध्ययन गरेर नियन्त्रण गर्न खोजेको भनिए पनि अझैसम्म कुनै पनि ब्यक्ति कारबाहीको दायरामा आएका छैनन् ।

यसमा राजनीतिक नेतृत्व, कूटनीतिक निकायका व्यक्ति र सुरक्षा निकायको समेत मिलेमतो रहन सक्ने आँकलन परराष्ट्र अधिकारीहरूले गर्दै आएका छन् । ‘मानिस फर्किएका छन् । उनीहरूमार्फत संजाल चलाउनेसम्म किन सुरक्षा निकाय पुग्दैन ?’ परराष्ट्रका एक अधिकारीले भनेका छन–‘हाम्रो संयन्त्रभित्र पनि गडबड छ । किनकि हामी भित्रका व्यक्तिहरू पनि म्यानपावर कम्पनी र विदेशमा बसेका एजेन्टसँग सम्पर्कमा हुन्छन् ।’

पीडित, परराष्ट्रका कर्मचारी र सुरक्षा निकाय मिलेर सहकार्य गरेमा यस्ता मानवतस्करको जालो सहजै चिर्न सक्छन् । कतिपय माफिया र गलत व्यक्तिले राजनीतिक संरक्षणसमेत पाउने हुनाले पनि समस्या निम्तिएको तथा दूतावासले मात्र केही गर्न नसक्ने ती अधिकारीले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्