सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतबाट आउने तरकारीमा विषादी परिक्षण नहुने

सरकारले भारतबाट आयात हुने तरकारी वा फलफूलमा विषादीको परीक्षण गर्ने निर्णयलाई भारतीय दवावका कारण स्थगित गरेकोप्रति नेकपा मसालले विरोध गरेको छ । यसअघि भारतीय पक्षले भारतबाट नेपाल आयात हुने तरकारी तथा फलफुलमा विषादी जाँच नगर्न दबाब दिएको थियो ।

शनिबार मसाल महामन्त्री मोहन विक्रम सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘भारतीय दवावमा भएको यो कार्यलाई नेकपा (मसाल)ले गलत मान्दछ र त्यो निर्णयको तीव्र शब्दमा भत्र्सना गर्दछ । यसले सरकारको भारतीय साम्राज्यवादप्रतिको सम्झौतापरस्त नीति मात्र होइन, नाङ्गो प्रकारको आत्मसमर्पणको प्रवृत्तिलाई पनि बताउँछ । सरकारको त्यो निर्णयबाट नेपाली जनताको स्वास्थ्यप्रति सरकारको गम्भीर प्रकारको गैरजिम्मेवारीपूर्ण कार्यशैलीलाई पनि बताउँछ ।’

अन्तराष्ट्रिय कानुनअनुसार नै कुनै देशको सरकारलाई अन्य देशबाट आउने खाद्यान्नको परीक्षण गर्ने अधिकार रहने भन्दै मसालले निर्णयमा परिवर्तनका लागि दवाव दिएर भारत सरकारले आफ्नो साम्राज्यवादी चरित्रको नाङ्गो प्रदर्शन गरेको आरोप लगाएको छ ।

तरकारी र फलफूल जस्ता सामान्य विषयहहरूमा समेत भारतको दवाव वा हस्तक्षेपको नीति हुनु गम्भीर बिषय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतले नेपालको संविधान, गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता, सुरक्षा, प्रशासन, परराष्ट्रनीति, अर्थतन्त्र, नागरिकता, जलस्रोत र सीमा आदि सबै विषयहरूमा दशकौँदेखि लगातार हस्तक्षेप गर्दै आएको उल्लेख गर्दै मसालले भनेको छ, ‘तरकारी वा फलफुलको प्रश्नमा अहिले त्यसले गरेको हस्तक्षेप त्यो लामो सिलसिलाको सामान्य, तात्कालीक र प्रकट रूप मात्र हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्