एनआरएनए एशिया प्यासिफिक संयोजकमा श्रेष्ठको दाबी
गैर आवासीय नेपाली संघको निर्वाचन नजिकिँदै गर्दा दाबेदारहरु पनि सार्बजनिक रुपमा ईच्छा ब्यक्त गर्न थालेका छन् । यसै मेसोमा लामो समयदेखि जापानको नागोयामा ब्यवसाय गर्दै आएका चर्चित व्यवसायी तथा समाजसेवी रोविन्द श्रेष्ठ (गोविन्द) ले एनआरएनए आईसिसिको एशिया प्यासिफिक क्षेत्रीय समितिको संयोजकमा दावी गर्दै उम्मेदवारीको घोषणा गरेका छन् ।
यसअघि एशिया प्यासिफिकको उप–संयोजकका रुपमा काम गरिसकेका व्यवसायी तथा समाजसेवी श्रेष्ठले आफु निरन्तर रुपमा एनआरएनएको अभियानमा लागीरहेको बताउँदै आगामी कार्यकालका लागि एशिया प्यासिफिकको संयोजकको रुपमा काम गर्न ईच्छुक भएको बताएका छन् ।
व्यवसायी श्रेष्ठ वर्तमान कार्यसमितिका लागी गत साल भएको निर्वाचनमा एशिया प्यासिफिकको संयोजकमा जापानबाटै उम्मेद्वारी दिएका व्यवसायी किरणविक्रम थापासंग झिनो मतले पराजित भएका थिए ।
निर्वाचनमा पराजित भएपछी आफु आधिकारिक जिम्मेवारीमा नभएकोले एनआएनएका गतिविधिमा प्रत्यक्ष संलग्नता नदेखिए पनि आफु गैर आवासीय नेपालीको हित र देशका बिभिन्न सामाजिक कार्यमा निरन्तर रुपमा आवद्ध रहँदै आएको श्रेष्ठले बताएका छन् ।
व्यवसायी तथा समाजसेवी श्रेष्ठले फेसबुकमार्फत आफ्नो दाबी सार्बजनिक गर्दै भनेका छन्–‘चाहे बाराको बाढी र हावाहुरी आउँदा होस्, चाहे एनआरएनए भवन निर्माण कार्यमा होस् अथवा वारपाक वस्ती निर्माणमा होस् म सक्रियतापूर्वक निरन्तर जोडिईरहेको जानकारी यहाँहरु समक्ष गराउन चाहान्छु ।’
उनले अगाडी लेखेका छन्–‘संगै जापानमा हुने हरेक गतिबिधिमा अविछिन्न रुपमा लागिरहेको र लागिरहने समेत जानकारी गराउन चाहन्छु । मलाई सक्रिय रुपमा सामाजिक अभियानमा लागोस् भन्ने चाहना हुने सम्पूर्ण मेरा शुभचिन्तकहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’
गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय समितिको गत निर्वाचनमा जापानले अध्यक्षसहित अन्य महत्वपूर्ण जिम्मेवारी हात पारेको थियो । गत निर्वाचन मार्फत वर्तमान कार्यसमितिको अध्यक्षमा भवन भट्ट, प्रवक्तामा भूषण घिमिरे, युवा संयोजकमा सुदन थापा, एशिया संयोजकमा किरणविक्रम थापा, उप–संयोजकमा पारसमणि पोखरेल लगायत निर्वाचित भएका थिए ।
एनआएनएको आगामी निर्वाचनमा पनि जापानबाट पदाधिकारीमा आकाँक्षा राख्नेहरुको संख्या धेरै नै हुने संकेत संकेत देखिएको छ । जसअनुसार अध्यक्षमा भवन भट्टले पुनः दोर्होयाउने आशयसहितको अभिब्यक्ति सार्बजनिक भएका छन् भने उपाध्यक्षमा किरणविक्रम थापाले दावी गरेका छन् ।
त्यस्तै कोषाध्यक्षमा ब्यवसायी महेशकुमार श्रेष्ठ र सुदन थापाको चर्चा हुन थालेको छ भने एशिया प्यासिफिकको संयोजकमा रोविन्द श्रेष्ठ (गोविन्द) र जापानको नागोयामै व्यवसाय गर्ने पारसमणि पोखरेलको दाबी छ ।
यसैगरी एशिया प्यासिफिकको उप–संयोजकमा ब्यवसायी कपिलदेव थापाले आकांक्षा व्यक्त गरेका छन् । एनआरएनए आईसिसिको महासचिवमा बेलायतबाट डा. हेमराज शर्माको दावी छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्