एकाबिहानै मन्त्रिपरिषदको आकस्मिक बैठक
मंगलबार एकाबिहानै मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो । आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने बैठक नियमित भएको बताएका छन् । प्रेस संयोजक चेतन अधिकारीले भनेका छन्–‘सरकारका कामका विषयमा छलफल भइरहेको छ । यो आकस्मिक नभएर हिँजोकै निरन्तरता हो ।’
यसअघि सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । सो बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्दै आएको छ । बैठकका निर्णय एक सातापछि सार्वजनिक गर्ने गरिएको छ । राजपत्रमा सूचना प्रकाशित गरी सरकारले आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल भित्र्याउने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार कृषि मन्त्रालयले नाकामा कडाइ सुरु गरेको थियो । तर, वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विषादी परीक्षण स्थगित गरेको थियो । प्रयोगशाला अभावमा विषादी परीक्षण स्थगित गरिएको भनिए पनि पछि भारतीय दबावमा रोकिएको सार्वजनिक भएपछि सरकार आलोचित छ ।
कृषि मन्त्री चक्रपाणी खनालले संसद्मै प्रयोगशाला अभाव नरहेको जवाफ दिएपछि त सरकार थप अप्ठ्यारोमा परेको छ । सम्भवतः यीनै आलोचनाहरुको बिषयमा आज सरकारको आधिकारीक निर्णय आउने अनुमान गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्