हङकङलाई हराउँदै नेपाल यु–१९ एसिया कपमा छनौट
मलेसियामा सम्पन्न भएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । उपाधिसँगै नेपाल आगामी अगस्ट–सेप्टेम्बरमा श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा छनोट हुन सफल भएको छ ।
मंगलबार भएको फाइनल खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपाल विजेता बन्न सफल भएको हो । हङकङले दिएको ९६ रनको लक्ष्य नेपाली युवा टोलीले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरी जित हात पारेको हो ।
नेपालको जितका लागि पवन सरार्फले ३९ रनको योगदान गरेका थिए । पवनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । रित गौतम १४ बलमा १३ र खडक बोहरा २२ बलमा ८ रन बनाएर आउट भएका थिए ।
कप्तान रोहितकुमार पौडेल १० बलमा १२ रन बनाएर आउट हुँदा भीम सार्की ८ रन बनाई नटआउट रहेका थिए । ६ बल सामना गरेका हरिबहादुर चौहानले कुनै रन जोड्न सकेनन ।
हङकङका लागि रौनक कपुरले २, मोहमद हसन खान र हसन खानले नेपालको एक–एक विकेट लिएका थिए । क्वालालम्पुरको किनरारा मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको हङकङको युवा टोलीले ४३.१ ओभरमा अलआउट भई ९५ रन बनाएको थियो ।
नेपालका सागर ढकाल एक्लैले हङकङको ५ विकेट लिएका थिए । १० ओभर बलिङ गरेका उनले ५ मेडनसहित १८ रन खर्चिएर ५ किवेट लिएका हुन् । सागरपछि कमलसिंह ऐरीले ३ विकेट लिन सफल भएका थिए । कुशल मल्ल र पवन सरार्फले एक–एक विकेट लिएका थिए ।
हङकङका लागि अदित गोरावाराले सर्वाधिक २४ रन बनाएका थिए । कल्हान चल्लुले १९, राउनक कपुरले १२ र मोहमद हसनले ९ रन जोडेका थिए । चार ब्याट्सम्यान शून्य रनमै आउट भएका थिए ।
नेपालले समूह चरणका खेलमा चीनलाई १० विकेट र सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । सोमबार भएको सेमिफाइनलमा मेलेसियालाई ७ विकेटले पराजित गरी नेपाली यु–१९ युवा टोलीले फाइनलमा प्रवेश गरेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्