पुर्वपश्चिम राजमार्ग अबरुद्ध, सुरक्षित बस्न अपिल
बिहीबारदेखिको परेको अविरल वर्षापछि आएको बाढीले रौतहटको जनजीवन प्रभावित भएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।
अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् ।
सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ । तर, वर्षा जारी रहेकाले कठिनाइ भइरहेको छ । यसैबीच, रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ ।
भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडा लगायतका वडाहरु जलमग्न भएका छन् । उता, लाल बकैया नदीले रौतहटको बन्जरहाको बाँधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो बर्षा अँझै २ दिन सम्म जारी रहने अनुमान गरिएको छ । बर्षाका कारण आउने बाढी पहिरोको क्षतिबाट सुरक्षित स्थानमा बस्न मौसम विज्ञान विभाग र सरकारले सर्बसाधारणसँग अपिल गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्