सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रेमिका भित्र्याउन श्रीमतीको घाँटी रेटी ह*त्या

पोखरा रामबजारमा मोबाइल पसल चलाइरहेका रमेश नेपालीले श्रीमती हराएको भन्दै खोजी गरिदिन २ असारमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । रमेशकी श्रीमती २७ वर्षीया लक्ष्मी १ असारमा बेपत्ता भइन् ।

१ लाख ५० हजार लिएर श्रीमती गायब भएको र छोराछोरीको विचल्ली भएको भन्दै रमेशले प्रहरीमा हारगुहार गरे । प्रहरीले उनको निवेदन दर्ता ग¥यो र लक्ष्मीको खोजी थाल्यो ।

११ असारमा लक्ष्मीकी आमा मिठुमाया परियारले पनि खोजतलास तथा कारबाही गरिपाऊँ भन्दै प्रहरीमा निवेदन दिइन् । तर २५ दिनसम्म लक्ष्मीको अत्तोपत्तो छैन । अनुसन्धानका क्रममा भेटिएका केही तथ्यले प्रहरीलाई रमेशप्रति नै शंका लाग्यो ।

उनीमाथि प्रहरीको निगरानी थाल्यो । प्रहरीको शंका त्यतिबेला झनै बलियो भयो, जतिबेला लक्ष्मीले प्रयोग गर्दै आएको मोबाइल, सिक्रीलगायत सामान डेरामै भेट्यो । यसकै आधारमा प्रहरीले रमेशलाई हिरासतमा लिएर केरकार थाल्यो ।

उनी विस्तारै आफ्ना कर्तुत खुलाउन थाले । अन्ततः उनले स्वीकारे श्रीमतीको ह*त्या । अनि श्रीमती वेपत्ता भइन् भन्दै निवेदन दिने उनै रमेशले लक्ष्मीको ह*त्या गरी फालेको ठाउँ देखाइदिए, पोखरा २२ को कर्कले जंगल ।

असार २५ गते पोखरा प्रहरी त्यहाँ पुग्दा श*व कुहिएर कंकाल मात्र बाँकी थियो । टाउको एकातिर थियो भने शरीर अर्कोतिर । रमेश साली नाता पर्ने (मामाकी छोरी) अनु परियारसँग प्रेममा थिए ।

यो लक्ष्मीले चाल पाएकी थिइन् । उनले मामा माइजुलाई यसबारे सचेत पनि गराएकी थिइन् । तर रमेश र अनुले अर्कै योजना बनाए, प्रेममा ‘बाधक’ बनेकी लक्ष्मीलाई पन्छाउने ।

‘एक वर्ष अगाडि नै अनुले दिदीलाई साइड लगाउनू न भन्दै रमेशलाई भनेको खुल्न आएको छ,’ जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी दानबहादुर कार्कीले भने, ‘यसरी हेर्दा लक्ष्मीलाई मा*र्न एक वर्षअघि देखि नै योजना बन्दै आएको देखिन्छ ।’

Pokhara hatyakanda

अनुले साथ दिने भएपछि रमेशले आफ्नै श्रीमतीको ह*त्या योजना बुन्न थाले । उनले पोखरामै मोबाइल पसल सञ्चालन गर्दै आएका सञ्जय शर्मालाई ‘एकजना महिलालाई मा*र्नु छ । त्यसका लागि राम्रो रकम पनि पाइन्छ है’ भनेका थिए ।

शर्मा र नेपालीको कुरा मिलेपछि सल्लाह भयो, ‘सर्लाही ईश्वरपुर ३ तिनघरिया स्थायी घर भई पोखरा ९ मा बस्ने चित्तरञ्जन साहलाई १० लाख दिएर भारतबाट मान्छे झिकाउने ।’ साह स्वयं पनि मोबाइल पसल सञ्चालक हुन् ।

योजना मुताबिक साहले भारतबाट ३ ‘कन्ट्रयाक्ट कि*लर’ झिकाए । जेठ ३० गते पोखरा पृथ्वीचोकस्थित कोशी होटलमा बसे । होटलले उनीहरुको रजिस्ट्रेसन इन्ट्री नगरेका कारण पहिचान हुन नसकेको एसपी कार्कीले बताए ।

रमेशले श्रीमतीको ह*त्या गर्न जेठ ३१ गते सञ्जय शर्मालाई १ लाख रुपैयाँ बुझाएको बयान दिएका छन् । रकम पाएपछि उनीहरु घटना गराउने स्थानको खोजीमा जुटे । पोखरा २२ कर्कले जंगललाई उनीहरुले लक्ष्मीको ह*त्या स्थल छाने ।

घटना भएको दिन रमेश र सञ्जय मिलेर पोखरा हल्लनचोक लेकसाइडमा रहेको पोखरा बाइक रेन्ट प्रालिबाट ग ११ प ८००३ नम्बरको स्कुटर भाडामा लिए । त्यसपछि उनीहरु पोखरा ९ नयाँबजार आइपुगे र ग १ च २३६३ नम्बरको कार भाडामा लिए ।

‘स्कुटर रमेशले नै चलाएर लगेका रहेछन् । भाडामा ल्याएको कारबाट चाहिँ सञ्जय शर्माले चलाएर होटलमा रहेका ३ जना भारतीय र चित्तरन्जन साहलाई कर्कले जंगल लगेका रहेछन्,’ एसपी कार्कीले भने ।

लक्ष्मीको पहिलेदेखि गोडामा समस्या थियो । उपचार गर्दा पनि निको नभएपछि आजित उनलाई रमेशले भने, ‘कर्कले जंगलमा जंगली जडिबुटी पाइन्छ, खोज्न जाउँ’ भन्दै लगे । उनी भाडाको स्कुटरमा पछाडि बसिन् र लागिन्, कर्कले जंगल । उनलाई के थाहा केही समयपछि नै त्यहाँ कस्तो निर्मम घटना हुन्छ भन्ने ?

रमेश श्रीमती लिएर जंगल पुगे । जडिबुटी खोज्दै गर्दा रमेशले शौच आयो भन्दै श्रीमतीलाई केही पर पठाए । ‘त्यही समयमा नै योजनामुताविक त्यहाँ पहिलेदेखि लुकेका व्यक्तिले मुख र आँखामा सलले बाँधेर घाँटी रे*टेका रहेछन्’ एसपी कार्की भन्छन् ।

लक्ष्मीको ह*त्यापछि नेपालीले सञ्जयलाई ५ लाख रुपैयाँ बुझाएको र बाँकी ४ लाख पछि दिने सहमति गरेको पक्राउ परेकाहरुको बयानबाट खुलेको छ । ह*त्यामा संलग्न भारतीयहरु फर्किए, बाँकी पैसा चित्तरञ्जनमार्फत पठाउने सहमति भयो ।

श्रीमतीको ह*त्या गरेर फर्किएका रमेशले ‘मेरी श्रीमती हराई । खोजतलास गरिदिनुप¥यो’ भन्दै अर्को दिनबाट नाटक सुरु गरे । २ असारमा प्रहरीमा निवेदन दिएका उनले पटकपटक श्रीमतीको खोजीका लागि प्रहरीलाई दबाव दिए । तर उनको अपराधकर्म लुकेन ।

प्रहरीले लक्ष्मीको ह*त्यामा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार रमेश नेपाली, रमेशकी साली १९ वर्षीया अनु परियार, सर्लाही ईश्वरपुर ३ घर भई हाल पोखरा ८ पृथ्वीचोक बस्ने २६ वर्षीय चित्तरञ्जन कुमार साह, भोजपुर नपा ५ बैंकरोड घर भई हाल पोखरा ९ महेन्द्रपुल बस्ने ३२ वर्षीय सञ्जय शर्मा छन् ।

कन्ट्रयाक्ट कि*लर तीन भारतीय नागरिकको पहिचान खुलेको छैन र उनीहरु फरार छन् । प्रहरीका अनुसार रमेशले चार महिनाअघि लक्ष्मीको एक करोडको जीवन बीमासमेत गराएको पाइएको छ । यसलाई समेत ह*त्यासँग जोडेर अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्