पहिरोमा पुरिएर गुल्मीमा ६ जनाको ज्यान गयो
सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मीमा ६ जनाको मृ*त्यु भएको छ । राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू, उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृ*त्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिएका छन् ।
यस्तै, उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएको स्थानीयले बताएका छन् । पानी परिरहेकाले उपचारमा लैजानका लागि समस्या परेको छ ।
यता, सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउँदा चार जनाको श*ब फेला परेको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिएका छन् । श*बको पहिचान हुन सकेको छैन ।
चार घरमा कति जना थिए र अन्यको अबस्थाको बारेमा नखुलेको ढकालले बताएका छन् । उद्धारका लागी स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुग्न लागेको उनले बताएका छन् ।
यस्तै, सत्यावती गाउँपालिका वडा नं ३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ । राति घर बगाउँदा रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ । उनीहरु बेपता रहेको स्थानीयहरुले बताएका छन् । उनिहरूको खोजी कार्य जारी रहेको बताईएको छ ।
अबिरल बर्षा भईरहेका कारण प्रहरीको टोली त्यस तर्फ पुग्न सकेको छैन । बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको र आधिकारीक विवरण त्यस पश्चात आउन सक्ने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोलीसंगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यकर्मीको टोली पुगेको जानकारी दिएका छन् । अहिले स्थानिय घटनास्थलमा उद्दारका लागि खटिएको बुझीएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्