सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गृहसचिव र आईजीपी बिच प्रहरी परिचालनबारे द्वन्द

आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार कसको भन्ने विषयलाई लिएर गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिच मत बाझिएको छ ।

खनालले आकस्मिक रुपमा प्रदेशमा पनि प्रहरी परिचालन गर्नुपरे त्यसको अधिकार प्रहरी महानिरीक्षक वा प्रहरी प्रधान कार्यालयलाई हुनुपर्ने कानुनी व्यवस्था गर्न माग राखेपछी गृहसचिव राईले त्यसमा असहमति जनाएका हुन् ।

आकस्मिक रुपमा प्रहरी परिचालन गर्दा सबै अधिकार प्रहरी महानिरीक्षकलाई दिन नमिल्ने उनको तर्क छ। नेपाल सरकारको गृह मन्त्रालय वा प्रदेश सरकारले निर्णय गरेपछि मात्रै आकस्मिक रुपमा प्रहरी परिचालन गर्दा उपयुक्त हुने उनले बताए ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै गृह सचिव राईले आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिन नमिल्ने बताए ।

प्रहरी महानिरीक्षक खनालले भने प्रहरी महानिरीक्षकले आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार नभय आपतकालको समाधान तत्काल नहुने अवस्था आउन सक्ने उनको तर्क छ । महानिरिक्षक खनालले आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिनुपर्ने स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्