एनआरएनए जापानको क्षेत्रिय सचिवमा वस्नेतको दाबी
गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको आसन्न निर्वाचनमा एनआरएन तोचिगीका निवर्तमान संयोजक विकास वस्नेतले क्षेत्रियतर्फको सचिव पदका लागी उम्मेद्वारी घोषणा गरेका छन् । लामो समयदेखी जापानको तोचिगीमा व्यवसाय गर्दै आएका वस्नेतले फेसबुकमार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
‘थोरै बोलौँ धेरै गरौँ’ भन्ने चुनावी नारालाई अगाडी सारेका वस्नेत विगत १६ बर्षदेखी जापानमा बसोबास गर्दै आइरहेका छन् । लामो समयदेखी जापानलाई कर्मभुमी बनाईरहेका वस्नेत सन् २०१७–०१९ को एनआरएनए तोचिगीका संयोजक पनि हुन् ।
बिभिन्न नेपाली संघ संस्था र क्लवमा रही तोचिगी क्षेत्र र जापानमा रहेका नेपालीहरुलाई सुखदुखमा आवश्यक सहयोग र सेवा गर्दै आएका वस्नेतले सामाजिक क्षेत्रमा काम गर्ने आफ्नो भोक मेटाउन गैर आवासीय नेपाली संघ जापानको क्षेत्रियतर्फको सचिवमा उम्मेद्वारी दिएको बताएका छन् ।
उम्मेद्वारी घोषणा गर्दै वस्नेतले फेसबुकमा भनेका छन्–‘अबका दिनहरुमा अँझ द्रुत र चुस्तताका साथ सामाजिक सेवामा लाग्ने सोचाइका साथ सबै क्षेत्रमा राम्रो र सुमुधुर सम्बन्ध भएकाले पदको जिम्मेवारी बहन गर्न सक्ने आत्मविस्वासका साथ आउँदो (२०१९–०२१) एनआरएनए जापानको केन्द्रिय महाधिवेसनमा केन्द्रिय सचिव (क्षेत्र) पदमा आफ्नो उमेदवारी घोषणा गर्दछु ।’
वस्नेतले उम्मेद्वारी घोषणाका क्रममा आफ्ना भावि योजनालाई चुनावि एजेण्डाका रुपमा अगाडी सारेका छन् । चुनावी एजेण्डामा वस्नेतले क्षेत्रीय समस्यालाई केन्द्रीय कमिटिमा लैजाने, जापानका बिभिन्न क्षेत्रमा बस्ने नेपालीहरुको (बिद्यार्थी, कुक, शरणार्थी) समस्या समाधानका लागी क्षेत्र र केन्द्रबिच समन्वय गर्ने, एनआएनएलाई नेपालको विकास गर्न प्रयोग गर्ने लगायतका बुँदा अगाडी सारेका छन् ।
गैर आवासीय नेपाली संघ जापानको राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकाल (२०१९–०२१)का लागी आगामी सेप्टेम्बर ८ तारिखका दिन निर्वाचन हुँदैछ । ई–भोटीङमार्फत हुने मतदान बिहान १० बजेबाट सुरु भएर साँझ ४ बजे सकिनेछ । सोही दिन साँझ ७ बजे मतपरिणाम घोषणा हुनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्