जापानको तोचिगीमा नेपालीहरुले गरे सरसफाई
जापानको तोचिगीमा बस्दै आएका नेपालीहरुले आज अगष्ट २५ तारिख आईतबारका दिन तोचिगी सिटीमा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । पछिल्लो समय जापानमा नेपालीहरुप्रति नकारात्मक धारणा बढिरहेका बेला सरसफाई कार्यक्रम गरेर तोचिगीबासी नेपालीले नेपाल र नेपालीहरुबारे सकारात्मक सन्देश दिने काम गरेका छन् ।
सरसफाई कार्यक्रम बिहान ७ः१५ बजेदेखी ८ः४० बजेसम्म सञ्चालन भएको थियो । सरसफाई कार्यक्रम तोचिगी ट्रेन स्टेशनको उत्तरतर्फबाट तोचिगी सिटी अफिससम्मको करिब साढे १ किलोमिटरको दुरीमा गरिएको थियो । तोचिगी स्टेशन देखी सिटी अफिसतर्फको मुख्य सडक र सहायक सडक गरी तिन ओटा रुटमा तिन समुह बनाई फोहोर टिप्ने काम गरिएको हो ।
सरसफाईका क्रममा टिपिएको फोहोर तोचिगी सिटि अन्र्तराष्ट्रिय केन्द्रमा पुगेर व्यवस्थापन गरेपछी सरसफाई कार्यक्रम सकिएको थियो । सरसफाई कार्यक्रममा तोचिगीमा बसोबास गर्ने २३ जना नेपालीको सहभागीता रहेको थियो । सरसफाईमा संलग्न नेपाली टोलीलाई सघाउन तोचिगी सिटी अन्र्तराष्ट्रिय केन्द्रका प्रतिनिधी र ७ जना स्वयंसेवकको पनि सहभागिता रहेको थियो ।

सरसफाई कार्यक्रममा एसएमएस कर्पोरेशन (हाकेन)का सञ्चालक महेश लुईँटेल, सुरेन्द्र अधिकारी, श्याम खड्का र कर्मचारी, लाफा रेष्टुरेन्टका सञ्चालक गणेश राना र महेन्द्र थापा, गिन्जा रेष्टुरेन्टका सञ्चालक विजय श्रेष्ठ, सिटि एक्सप्रेस मनि ट्रान्सफर तोचिगीका कार्यालय प्रमुख कृष्ण प्रसाद गैरे, लालिगुराँस रेष्टुरेन्टका भुवन गैरे, लाफा क्लवका सदस्यहरु लगायतका नेपालीहरु सहभागी भएका हुन् ।

सरसफाईका क्रममा प्रयोग हुने पञ्जा, मास्क, फोहोर टिप्ने चिम्टा, फुकुरो (प्लाष्टिक) लगायतका सामाग्रीको व्यवस्था जापानमा नेपालीहरुको एकमात्र हाकेन कम्पनी एसएमएस कर्पोरेशन र तोचिगी सिटी अफिसले गरेका थिए । सरसफाई अवधीभर सरसफाईमा संलग्न सबैजनाको विमाको समेत व्यवस्था गरिएको थियो ।

सरसफाई कार्यक्रम तोचिगी क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको समुह तोचिगी नेपाली कम्युनिटीको पहलमा गरिएको हो । नेपाली कम्युनिटीका संयोजक महेश लुईँटेलले जापानको ब्यस्त समयका बाबजुद सरसफाई कार्यक्रममा सहभागी भई नेपालीको इज्जत बढाईदिएकोमा सबैजनालाई धन्यवाद तथा आभार प्रकट गरेका छन् ।




फेसबुकबाट कमेन्ट गर्नुहोस्