कार्तिक १० र ११ गते जापानी भाषाको परिक्षा
कार्तिक १० र ११ गते हुने जापानिज भाषाको तयारी अन्तिम चरणमा पुगेको छ । भाषा परीक्षाका लागि जापान फाउन्डेसनले तयारी गरिरहेको छ । जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर)का लागि परीक्षा सञ्चालन गर्न लागेको हो ।
परीक्षामा सामेल हुने विद्यार्थीले अनलाइनबाट फारम भर्नु पर्नेछ । भाषा सञ्चालन गर्दै आएको जापान फाउन्डेसनको कार्यालय नभएकाले नेपालस्थित जापानी राजदूतावासबाट टोकन लिनुपर्छ । टोकन पश्चात मात्रै अनलाइनबाट फारम भर्न पाइन्छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार भाषा परीक्षाका लागि जापान फाउन्डेसनले छिट्टै सूचना प्रकाशित गर्नेछ । वेवसाइटमा सूचना प्रकाशित भएपछि टोकन लिने र अनलाइनबाट फारम भर्न पाइन्छ ।
नर्सिङ केयरका लागि एन फो तहको जापानी भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउने व्यवस्था छ ।
जापानिज भाषा परीक्षा दिन चार हजार पाँच सय येन शुल्क तोकिएको छ । भाषामा सामेल हुन २५ सय, सीपमा एक हजार र नर्सिङ क्षेत्रका लागि एक हजार शुल्क तिर्नुपर्ने उल्लेख गरिएको छ । छनोटमा परेका कामदारको भिसा प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्ने समझदारीमा उल्लेख छ ।
उपसचिव ढकालका अनुसार कम्प्युटरमा आधारित भाषा परीक्षा सञ्चालन हुनेछ । कम्प्युटरबाटै परीक्षा सञ्चालन हुने भएकाले परीक्षार्थीले तुरुन्तै आफ्नो नतिजा थाहा पाउन सक्छन् । उत्तीर्ण भएकाहरुको सूचीका आधारमा कामदार जापान जान पाउने छन् ।
नर्सिङ केयरका लागि जापानले ६० हजार कामदार लैजाने तयारी गरेको छ । नेपालबाट कामदारको कोटा यकिन नभए पनि रोजगारदाताको मागका आधारमा कामदार जापान जान पाउनेछन् । भाषामा निपुण भएका र नर्सिङ क्षेत्रमा रुचि भएका व्यक्ति अरु कुनै योग्यता र तालिमको प्रमाणपत्र बिना नै जापान जान पाउनेछन् ।
जापानले विभिन्न १४ क्षेत्रमा नौ मुलुकबाट कामदार लैजाने तयारी गरेको छ । कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको छ ।
यस्तै जापान जाने श्रमिकले खाद्य र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवम् हवाई उद्योगमा विदेशी कामदार लैजान लागेको हो ।
जापानी भाषा र सीप परीक्षामा सहजीकरण गर्न वैदेशिक रोजगार विभागमा जापान युनिट गठन गरिएको छ । जापानमा नर्सिङ, सरसफाइ, होटल र रेस्टुरेन्टमा तुलनात्मक रूपमा बढी अवसर पाइन्छ । जापानले ५ वर्षभित्र नौ मुलुकबाट तीन लाखभन्दा बढी कामदार लैजान लागेको छ । जापानले प्राथमिकताका आधारमा ती देशसँग श्रम समझदारी गर्दै आएको छ ।
जापानले पहिलो चरणमा फिलिपिन्स, नेपाल र भियतनामबाट कामदार लैजान लागेको छ । सीप वा सम्बन्धित कार्य क्षेत्रमा अनुभवी श्रमिक बढीमा पाँच वर्षसम्म जापान बस्न पाउँछन् । दोस्रो वर्गका श्रमिकका लागि उच्च तहको सीप आवश्यक पर्छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्