बाजुरामा स्याउले मुल्य पाएन, रुपैयाँको ३ ओटा
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ । बजार नपाउँदा स्याउ खेर गइरहेको छ ।
उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन् । गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ । उनले भने, ‘बारीमा आएर किलोमा कोही किन्दैनन् । दानाकै हिसाबले बेच्छु ।’
लाखौं मूल्यको स्याउ खेर जाने उनले बताए । उनले भने, ‘किन्न कोही आउँदैन । बजार निकै टाढा छ । भरियालाई बोकाएर र्पुयाउन सकिँदैन । स्याउ बस्तुभाउलाई कँुडो बनाएर खुवाउनुपरेको छ ।’
गाउँपलिकाबाट भारी बोकेर कोल्टी बजारसम्म पुग्न दुई दिन लाग्छ । कोल्ड स्टोर निर्माण र स्याउका अन्य परिकारबारे तालिम पाए केही सहज हुने अर्का किसान अनिल शाही बताउँछन् ।
गाउँका दुई सयभन्दा बढी किसानले स्याउ खेती गरेका छन् । प्रत्येक परिवारको बारीमा तीन सयभन्दा बढी स्याउका बोट छन् । स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोट, सोही गाउँपालिका १ र २ साप्पाटा हिमाली गाउँपालिका धिम, पाडी, जगन्नाथ गाउँपालिका साबिकको जगन्नाथ गाविस क्षेत्र र बुढीनन्दा नगरपालिकाकाको साबिकको पाण्डुसेन गाविसमा प्रशस्तै स्याउ फल्छ ।
स्याउ फलाउन सरकारी तथा गैरसरकारी संस्थाले गरेको खर्चको तथ्यांक छैन । तर बजारसम्म पहुँच र्पुयाउन कुनै निकायले पनि सहयोग नगरेको गुनासो किसानको छ ।
जिल्ला कृषि ज्ञान केन्द्रले स्याउको ग्रेड निर्धारण गरेको छ । राम्रो ग्रेडको स्याउ किलोको १५ रुपैयाँ निर्धारण गरिएको छ । ‘एक रुपैयाँमा एक दाना त कोही किन्दैन । १५ रुपैयाँ किलो त महँगो भयो नि । ४÷५ दानामा किलो भइहाल्छ’, किसान गजुर शाहीले भने ।
किसानले वर्ष दिनमै फल दिने कल्मी स्याउ लगाएका छन् । ‘सानो बोटमा पनि लटरम्म फल्ने गरेका स्याउको बजार छैन, गाउँमा सडक नपुग्दा किसान निराश छन्’, गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले भने । बजारसम्म स्याउ र्पुयाउन गाउँपालिकाले कृषि ज्ञान केन्द्रसँग समन्वय गरिरहेको उनले बताए ।
ढुवानीमा गाउँपालिकाको अनुदान
स्याउले बजार नपाएपछि जिल्ला कृषि ज्ञान केन्द्रले ढुवानीमा अनुदान दिने भएको छ । केन्द्रले ढुवानी अनुदानका लागि सूचना प्रकाशित गरेको छ । केन्द्रले बारीबाट बजारसम्म र्पुयाइदिनेछ । स्याउ बिक्री भने किसान आफैंले गर्नुपर्ने कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताए ।
जगन्नाथदेखि पिलिचौर र जुकोटदेखि पिलिचौरसम्म प्रतिकिलो १८ रुपैयाँ ७५ पैसा, कोल्टीदेखि मार्तडीसम्म १८ रुपैयाँ ९० पैसा र पाण्डुसेनदेखि मार्तडीसम्म १३ रुपैयाँ ५० पैसा प्रतिकिलो ढुवानी अनुदान निर्धारण गरिएको छ । मार्तडी–कोल्टी सडक सञ्चालन नभए ढुवानीमा समस्या हुने जैशीले बताए । जिल्ला सदरमुकाम मार्तडी र आसपासका बजारमा भने स्याउ प्रतिकिलो १ सय ५० देखि दुई सयसम्म बिक्री हुँदै आएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार बाजुरामा दुई सय ३० हेक्टरमा स्याउ खेती गरिएको छ । जिल्लामा गत वर्ष एक हजार ५० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष बढी क्षेत्रफलमा लगाइएकाले उत्पादन वृद्धि हुने अनुमान छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्