ठकुरीहरुको अन्तर्राष्ट्रियस्तरको अन्तरक्रिया कोरियामा
ठकुरी समाज दक्षिण कोरियाको आयोजना र दर्शन समाज जापानको सहकार्यमा दक्षिण कोरियाको सउलमा ठकुरी एकताका लागि अन्तर्राष्ट्रिय स्तरमा पहिलो चरणको बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ ।
‘बिश्वमा छरिएर रहेका ठकुरी संघ–संस्थाहरुलाई एकताको मालामा बाँध्ने हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ ठकुरी समाज दक्षिण कोरियाले नजिकिदै गरेको कोरियाको महान पर्व छुसकको समय सेप्टेम्बर १४ तारिकमा सउलमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको हो ।
छुसक विदाको समयमा कोरियाका विभिन्न क्षेत्रमा बस्दै आएका ठकुरीहरुको बिदा हुने भएकाले कार्यक्रममा सहभागी हुन सहज हुने भएकाले सेप्टेम्बर १४ तारिकका दिन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको ठकुरी समाज दक्षिण कोरियाले जनाएको छ ।
ठकुरी समाज दक्षिण कोरियाले अन्तरक्रिया कार्यक्रमको औचित्यबारे प्रस्ट्याउँदै आफ्नो वेभसाईटमा लेखेको छ–‘स्वदेश तथा बिदेशमा ठकुरी संघ संस्थाहरु धेरै स्थापना भईसकेका छन र भईरहेका छ्न तर सबै संघ संस्थाहरुको विधि बिधान फरक–फरक भएको र आफ्नो क्षेत्रको सिमित परिधिमा रहेका कारण एक्लो महशुस गरिरहेका छन र हामीले पनि महशुस गरिरहेका छौँ । तसर्थ यस्ता धेरै समस्याहरुमा ध्यानाकर्षण गर्दै सशक्त रुपमा नेतृत्व गर्ने ठकुरी संस्था निर्माणका लागि छलफल गर्न यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।’
अन्तरक्रिया कार्यक्रममा ठकुरीहरुको छाता संगठन ठकुरी समाज महासंघ नेपाल, ठकुरी सहयोग संजाल नेपाल, दर्शन समाज जापान, ठकुरी समाज हङकङ, ठकुरी सहयोग संजाल युएई, ठकुरी सहयोग संजाल कतार, आयोजक ठकुरी समाज दक्षिण कोरियाका प्रतिनिधि र दक्षिण कोरियामा रहेका ठकुरी समुदायका नेपालीहरुको उपस्थिति रहने जनाइएको छ । अन्तरक्रिया कार्यक्रम सेप्टेम्बर १४ तारिख दिउँसो २ बजे सउलको जोङ्गाकस्थित ज्योती रेष्टुरेन्टमा हुने बताइएको छ ।
दक्षिण कोरियामा हुन लागेको अन्तरक्रिया कार्यक्रममा दर्शन समाज जापानबाट जाने टोलिको टुङ्गो लागेको छ । कार्यक्रममा सहभागी हुनका लागि जापानबाट दर्शन समाज जापानका पुर्व अध्यक्ष तथा संरक्षक सुरज मल्लको नेतृत्वमा समाजका संस्थापक सल्लाहकार पदम मल्ल, पत्रकार तथा समाजका सल्लाहकार तिलक मल्ल लगायतको टोलि जाने टोलिका सदस्य सुरज मल्लले जानकारी दिएका छन । मल्लले अन्तरक्रिया कार्यक्रमलाई दर्शन समाज जापानको पुर्ण रुपमा सहयोग र ऐक्यबद्धता रहेको समेत जनाएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्