सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

डेंगुबाट ४ को मृ*त्यु, महामारीको रुप लिने डर

पछिल्लो समय देशका ४८ जिल्लामा भेटिसकिएको डेंगु रोग ‘प्रकोप’का रूपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा जानकारी दिन निर्देश गर्न सभामुखसँग आग्रह गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय सो रोग देशका ४८ जिल्लामा फैलिएको छ भने तीन हजारभन्दा बढी संक्रमित हुन पुगेका छन् । त्यस्तै डेंगुका कारण ४ जनाको अका*लमा मृ*त्यु भएको तथ्यांक रहेको छ ।

यो तथ्यांकमा देखिएको आँकडा मात्रै हो । तथ्यांकमा नआएको विवरण यो भन्दा २/३ गुणा बढी हुन सक्ने स्वास्थ्यविदहरुको अनुमान छ । मन्त्रालयले विशेषगरी किटजन्य रोग नियन्त्रण गर्ने पद ‘भेट्रोल कन्ट्रोलर’ खारेज गरेपछि रोग नियन्त्रण गर्न कठिनाइ परेको जनाइएको छ ।

mosquitoe Lamkhutte

डेंगुकै कारण नेत्र विशेषज्ञ प्रा. डा. सन्दुक रुइत तीन दिनयता अस्पतालमा छन् । अघिपछि पनि काम गर्ने र पढाउने अस्पताल भने होइन । डेंगुको संक्रमणले आफैं बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन् । उनलाई डेंगु पनि अस्पतालमा रहँदा भएको होइन । घरैमा उनीसहित रुइत परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको हो ।

‘डेंगुको अवस्था भयावह भएर आयो,’ उनले भने, ‘डेंगु फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी रूपमा चलाउन ढिला गरे झन् गाह्रो हुन्छ ।’ सञ्चारमाध्यममा आएका डेंगु संक्रमितको संख्याभन्दा दोब्बर बिरामी हुन सक्ने उनले बताएका छन् । पछिल्लो समय देशव्यापी रूपमै डेंगु संक्रमण बढेको अवस्थामा बिरामी पर्नेमा डा. रुइत एक्ला स्वास्थ्यकर्मी होइनन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका गरेर आइतबारसम्म १० स्वास्थ्यकर्मी डेंगु संक्रमित भई उपचार गराइरहेका छन् । केही उपचारपछि निको भएका छन् ।

अस्पतालमा कार्यरत र बाहिरका स्वास्थ्यकर्मीलाई संक्रमणबाट बच्न र बचाउन सचेत गराइएको निर्देशक डा. वासुदेव पाण्डेले बताए । ‘स्वास्थ्यकर्मी नै बिरामी परेपछि सर्वसाधारणमा पनि त्रास बढ्नु अस्वाभाविक होइन । जोगिने उपायबारे नियमित बताइरहेका छौं,’ उनले भने, ‘सकेसम्म शरीर पूरै ढाक्ने कपडा लगाउन र सरसफाइमा विशेष ध्यान दिन जरुरी छ ।’

स्वास्थ्य सेवा विभाग र टेकु अस्पतालको परिसरमै डेंगु संक्रमित लामखुट्टेको अन्डा र लार्भा भेटिएपछि सातायता नियमित सरसफाइलाई तीव्र बनाइएको छ । खाल्डाखुल्डीमा जमेको पानी हटाउने, झाडी फाँड्ने र रूखका हाँगासमेत काटेर सकेसम्म लामखुट्टे बस्ने वातावरण नाश गरिएको छ । अझै पनि अस्पताल परिसर सफा र व्यवस्थित देखिँदैन । पानी पर्नासाथ खाल्डाखुल्डी भरिन्छन् र लामखुट्टेको बासस्थान बन्छ ।

उपचारका क्रममा स्वास्थ्यकर्मी बिरामीको वरिपरि भइरहने भएकाले उनीहरू संक्रमणको उच्च जोखिममा हुने बताउँदै डा. पाण्डेले लामखुट्टे नछिरोस् भनेर झ्यालमा जाली लगाउने, प्वाल टाल्ने र शौचालय सफा गरिरहने काममा ध्यान दिइएको बताए ।

वार्डहरू अँध्यारो हुने र घामको प्रकाश कम छिर्ने भएकाले पनि अस्पताल परिसर बढी जोखिम भएको उनको तर्क छ । संक्रमितलाई टोकेको लामखुट्टेले सकभर अस्पतालमा आउजाउ गर्नेलाई रोग नसारोस् भनेर बिरामीलाई झुलभित्र राखेर उपचार थालिएको छ ।

३५ शय्यामा झुल टाँगिए पनि अस्पतालले सबै शय्याका लागि पर्याप्त हुनेगरी व्यवस्था गरेको छैन । डेंगु संक्रमित १३ जिल्लाका बिरामी भर्ना छन् । बिरामीमध्ये काठमाडौं, धादिङ र चितवनका धेरै छन् । डेंगुका बिरामीका लागि दुईवटा वार्ड नै छुट्ट्याइएको छ । टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार र संक्रमित भएको शंकामा परीक्षण गराउन आउनेको दिनहुँ भीड छ ।

‘भीडले गर्दा बिरामीहरू बहिरंग विभागको टिकट काटेको करिब ३ घण्टापछि मात्र जँचाउने पालो पाइरहेका छन्,’ डा.शेरबहादुर पुनले भने, ‘आज (आइतबार) मात्रै ओपीडीमा चार सय जनाभन्दा बढीले जँचाएका छन् ।’ अस्पताल आइपुग्ने अधिकांश ज्वरोले थलिएर जीउ चिलाउँदै र आँखाको गेडी आदि दुख्ने लक्षणसहित आइरहेका छन् । अस्पतालमा हाल डेंगुका ६० बिरामी भर्ना भएर उपचार गराइरहेको उनले बताए । उपचारका लागि आउनेमा एउटै परिवारका आमा, बुबा र छोराछोरीसमेत छन् ।

उपचार र नियन्त्रण प्रक्रियामा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहेको स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले बताइन् । ‘जनदबाबका कारण स्थानीय सरकार सबैले देख्ने धूवाँ उडाउने (फगिङ) गर्दै छन्, त्यो प्रभावकारी देखिएन,’ उनले भनिन्, ‘लामखुट्टे, त्यसको फुल र लार्भा खोजेर नष्ट गर्ने काम प्रभावकारी तरिकाले गर्नुपर्छ ।’ लामखुट्टेविरुद्ध फगिङ कतिपय मुलुकमा प्रतिबन्धितसमेत रहेको उनले बताइन् ।

चिकित्सकका अनुसार डेंगु भाइरस जोकोहीमा सर्न सक्छ, तर दस प्रतिशत मात्र बिरामी पर्छन् । शंका लाग्नासाथ जचाउनु भने पर्छ । सामान्य ज्वरो आएको भए पारासिटामोल र झोलिलो पदार्थ खाए ठीक हुन्छ । आँखा, नाक, मुखबाट र*गत बग्ने, पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने डेंगीका केही लक्षण हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS