सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘सिमसिमे पानीमा’ गायिकाको ‘बाटैमा रैछ घर’

‘सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ बोलको गीतबाट संगीत क्षेत्रमा स्थापित भएकी गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘बाटैमा रैछ घर तिम्रो…’ सार्वजनिक गरेकी छिन् । राजनराज शिवाकोटीको रचना तथा संगीत रहेको गीतमा उनलाई राजनराजले गायनमा पनि साथ दिएका छन् ।

गोविन्द राईको कोरियोग्राफी रहेको सो गीतमा नेपाली म्युजिक भिडियोमा अभिनयमार्फत तहल्का मच्चाइरहेकी मोडेल अन्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ । नितिन चन्दले निर्देशन गरेको सो भिडियोलाई दिप्सन बस्नेतले छायांकन र सम्पादन गरेका हुन् ।

१५ वर्षको उमेरमा ‘सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ बोलको गीत गाएर रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएकी रेखा शाहले नेपाली संगीतमा २५ वर्ष बिताइसकेकी छिन् ।

लोकगीतबाट सुरु भएको उनको यात्रा आधुनिक, पाश्चात्य, फ्युजन हुँदै गीतका विविध विधामा फैलिंदै छ । उनका आधा दर्जन गीति एल्बम प्रकाशित छन् । दर्जनौं चर्चित गित गाएकी गायिका शाहले यही गीतको प्रकाशनसँगै संसारभरका नेपाली माझमा कन्सर्ट गर्ने तयारी गरेको बताएकी छिन् ।

प्रेम–प्रणयका भाव उतारिएको गीतबारे गायिका शाह भन्छिन्, ‘यो गीतमा प्रयोग भएका शब्द, संगीत र संगीत संयोजन नयाँ छ । सबैको तालमेल मीठो भएकोले यो गीतलाई सबैले पक्कै गुनगुनाउनु हुनेछ ।’

राजनराज शिवाकोटी भन्छन्–‘मैले धेरै गीतहरूमा टिपिकल नेपाली शब्दहरू प्रयोग गरें, जसलाई सबैले मन पराइदिनुभयो । यो गीतमा पनि ‘दन्तैमा रैछ मोहनी’ जस्ता शब्दको प्रयोग गरेको छु । आशा छ, यो गीत पनि सबैको प्रिय बन्नेछ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्