एनआरएनए उपाध्यक्षमा किरण थापाको उम्मेद्वारी
गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९–२०२१ कार्यकालको लागि हुन लागेको आसन्न निर्वाचनमा एशिया प्यासिफिकका संयोजक (आरसी) किरण विक्रम थापाले यसपाली उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । एनआरएनएको नवौँ सम्मेलन अक्टुबर १५ देखी १७ सम्म काठमाण्डौमा हुँदैछ ।
पहिलोपटक सन् २००६ मा एनआरएनए जापानको सदस्यता लिएका थापा एनसीसी जापानको सदस्य बनेका थिए । सन् २००७–२०११ सम्म अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य बनेका थापा २०११–२०१३ मा एशिया प्यासिफिकको उप–संयोजक र २०१५–०१७–०१९ सम्म दुइ कार्यकाल एशिया प्यासिफिकको संयोजकका रुपमा काम गरिसकेका छन् ।
थापाले आफ्नो कार्यकालमा आफुले गैर आवासीय नेपाली संघका नियमित प्रोजेक्टहरुमा सपोर्ट र सहभागिता निरन्तर जनाउँदै आएको बताएका छन् । त्यस बाहेक फिलिपिन्समा क्षेत्रीय सम्मेलन, बालीमा बिजनेश सम्मेलन, जापानमा ६० औं कुटनैतिक सम्बन्धको उपलक्ष्यमा बिशेष कार्यक्रम, मलेसिया, हङकङ र म्यानमारमा भएका क्षेत्रीय बैठकहरु आफ्नो पालाका बिशेष कामहरु भएको थापाले बताएका छन् ।
स्थापनाकाल देखी नै गैर आवासीय नेपाली संघमा आबद्ध रहँदै आएका थापा कर्मथलो जापानलाई कार्यक्षेत्र बनाएर संस्थाको अभियानमा सक्रिय रहँदै आएका छन् । गैर आवासीय नेपाली संघका एजेण्डालाई संस्थागत गर्न र नयाँ योजनाका साथ काम गर्नका लागी विगतको योगदान, कार्यक्षमता र अनुभवको आधारमा आफु उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णयमा पुगेको थापाले बताएका छन ।
काठमाण्डौका रैथाने बासिन्दा थापाले कर्ममा निरन्तरता र काममा दृढता आफ्नो एनआरएनए अभियानको मुल मन्त्र भएको बताएका छन् । जापानमा एक्सपोर्ट र इम्पोर्टको व्यवसाय गर्दै आएका थापाले रेष्टुरेन्ट, ह्याण्डि क्राफ्ट लगायतको व्यवसाय पनि गर्छन । थापाको नेपालमा स्कूल, हाइड्रो, इन्सुरेन्स, बैंक लगायतको क्षेत्रमा लगानी रहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्