महराको भाँचिएको चश्मा खोज्न बालुवाटारमा प्रहरी
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख भवन बालुवाटार लगेर उनकै उपस्थितिमा प्रहरीले घर खानतलासी गरेको छ ।
महरा पक्राउ परेको असोज १९ गते राति नै प्रहरी उनलाई लिएर खानतलासी गर्न बालुवाटारस्थित सभामुख निवास गएको ढिला गरी सुचना बाहिरिएको छ । सोही दिन साँझ मात्रै उनलाई त्यही निवासबाट पक्राउ गरिएको थियो ।
पक्राउ गरेर काठमाण्डौ प्रहरी परिसर अन्तरगत सिंहदरबारस्थित प्रहरी वृत्तमा केही बेर राखेपछि उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको थियो । त्यहाँबाट सिधै बालुवाटार लगेर प्रहरीले सभामुख निवास खानलतासी गरेको जानकारी प्राप्त भएको छ ।
काठमाण्डौ प्रहरी परिसर स्रोतले भनेको छ–‘निवास खानतलास गर्दा भरसक पक्राउ परेका व्यक्तिकै उपस्थितिमा गर्ने चलन छ, त्यसैले हामीले उहाँलाई सँगै लिएर सभामुख निवास गएका हौं ।’
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफुमाथी बलात्कार प्रयास गरेको उजुरी दिएपछी महरालाई प्रहरीले अदालतको अनुमति लिएर पक्राउ गरेको हो । आफूसँगको घम्साघम्सीमा महराको चश्मा भाँचिएको शाहीले बताएकी थिइन् ।
शाहीको डेराबाट निस्कने बेला महराले भाँचिएको चश्माको खुट्टा, आफूले लिएर गएको रक्सीको बोतल र जुत्ताको तलुवा त्यहीँ छाडेका थिए । प्रहरीले चश्माको खुट्टा, रक्सीको बोतल लगायत प्रमाण संकलन गरी ’फरेन्सिक ल्याब’ मा परीक्षण गर्न पठाएको छ ।
अन्य सम्भावित प्रमाणका अलावा घम्साघम्सीमा भाँचिएको चश्मा खोज्न प्रहरी मध्यरात सभामुख निवास पुगेको प्रहरी स्रोतले बताएको छ । भाँचिएको चश्मा भेटिए असोज १२ गते रोशनीको डेरामा उनी र महराबीच भएको भनिएको घम्साघम्सीको बलियो प्रमाण हुनेछ ।
खानतलासीमा उक्त चश्मा भेटियो वा भेटिएन त्यसबारे भने प्रहरीले कुनै कुरा खुलाएको छैन । महरा त्यस रात शाहीको डेरामा गएको सिसिटिभी फुटेज भने प्रहरीले जुटाइसकेको छ । साथै, बरामद रक्सीको बोतलमा उनको हातको निसान भेटिने पनि प्रहरीको आस छ ।
असोज १९ गते पक्राउ परेका महरा अझै सिंहदरबार प्रहरी वृत्तमै हिरासतमा छन् । उनको बयान असोज २८ गते अदालत खुलेपछि मात्र हुनेछ । प्रहरी स्रोतले भनेको छ–‘अभियुक्तको बयान अनुसन्धान अधिकृत र सरकारी वकिलको उपस्थितिमा लिइन्छ । सरकारी वकिलको कार्यालय खुलेपछि महराको लिखित बयान सुरू हुनेछ ।’
प्रहरीले महराको नजिकका मानिससँग भने सोधपुछ गरिरहेको छ । असोज १२ को घटनापछि शाहीलाई आफ्नो प्रभावमा पारेर बयान फेर्न लगाएको, प्रहरी चौकी पुर्याएर आफूले केही नगरेको निवेदन दिन लगाएको, उनको फेसबुक नियन्त्रणमा लिएर जथाभाबी लेख्न लगाएको आरोप महरालाई छ ।
‘उहाँका वरिपरिका मानिससँग सोधपुछ गरेपछि महरासँग लिखित बयान लिन सजिलो हुनेछ,’ प्रहरी स्रोतले भन्यो, ‘उहाँलाई ‘क्रस’ प्रश्न सोध्न र केरकार गर्न सहयोग पुग्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्