चिनियाँ राष्ट्रपति सि जिनपिङ आज नेपाल आउँदै
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी जिनपिङ भारत हुँदै आज शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् ।
भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३० देखी ०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्रिभुवन विमास्थलमा सीलाई उच्च सम्मानका साथ स्वागत गर्ने तयारी सरकारले गरेको छ । शनिबार काठमाडौंमा विशेष विमानबाट अवतरण गरेपछि सीले केहीबेर विश्राम लिने र त्यसपछि भेटघाटका कार्यक्रमलाई तीव्रता दिने कार्यतालिका रहेको छ ।
सीले साँझ ६ः३० बजे नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । भेटवार्ता राष्ट्रपति कार्यालय, शीतल निवासमा हुनेछ । त्यसपछि सीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।
देउवासँगको भेटवार्तापछि सि जिनपिङ राष्ट्रपति भण्डारीले आयोजना गरेको राजकीय भोजमा सहभागी हुने कार्यतालिका छ । आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल स्तरीय औपचारिक वार्ता हुनेछ ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि, मन्त्रालयले वार्ताको मिति सार्वजनिक गरेको छैन ।
नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङ आउने भएपछी सोल्टी होटल पुरै खालि गरिएको छ । सि जिनपिङ काठमाण्डौ रहँदासम्म कडा सुरक्षाका बिच सोल्टी होटलमै रहनेछन् । सिको सुरक्षाका लागी १५ हजार सेना परिचालन गरिएको छ । सुरक्षामा २५ हजार प्रहरी पनि तैनाथ गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्