पुर्वयुवराज पारस र सोनिकाबिच हिमचिम बढ्दो
थाइल्याण्डमा रहँदा कनिका चैसन नाम गरेकी थाई युवतीसँगको सम्बन्धका कारण विवादित बनेका पूर्व युवराज पारस शाहको नाम फेरी यतिबेला आफुलाई एक नेपाली यूट्यूबर तथा मोडलका रुपमा चिनाउने सोनिका रोकाया नाम गरेकी युवतीसँग जोडिएको छ ।
दरवारमार्गको एक रेष्टुरेन्टसहितका केही स्थानमा बाक्लै रूपमा एकसाथ देखिन थालेपछि उनीहरूबीचको निकटताका बारेमा चर्चा चलेको हो । यस्तैमा पूर्व युवराज पारसले सोनिकालाई हार्ले डेबिडसन बाइकको पछाडि राखेर हुँकिएको भिडियो टिकटकमा सार्वजनिक भएपछि सो चर्चा थप गर्माएको हो ।
चर्चाले विशेषगरी सामाजिक संजाल तातिरहेको छ । पारसलाई विशेषगरी सोनिकाको पनि लगानी रहेको दबारमार्गस्थित लिक्विड लाउन्जमा धेरैजसो देखिन्छ । सोनिकाले पारससँगका केही टिकटक भिडियो आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्दै आइरहेकी छन् ।
पूर्व युवराज पारससँग नाम जोडिएको विषयमा कुरा गर्दै सोनिकाले त्यसमा कुनै सत्यता नरहेको र तथ्य नबुझी लेखिएको बताएकी छिन् । उनले भनेकी छिन्–‘उहाँको छवि पनि विवादास्पद छ र मेरो पनि । यसको आधारमा यस्तो भनिएको हो । मेरो लाउन्जमा उहाँ आइरहने भएकाले अलि निकट छु । म परिचितहरू सबैसँग उस्तै किसिमको ख्याल ठट्टा गर्छु । अरू धेरैको बाइकमा कफी पिउन गएको छु, साथीका रूपमा । यो पनि त्यस्तै हो ।’
सोनिकाले अगाडी भनेकी छिन्–‘एउटा केटा हिँडेको भए यस्तो केही हुँदैन थियो होला । केटी भएँ त्यसैले यस्तो भएको हो । हुन त मेरा राम्रा कुरा लेखिन्न, यस्तै त लेखिने हुन् । मेरो बारेमा मलाई नसोधी लेखिएको छ ।’
खासमा को हुन त सोनिका रोकाया ?
बझाङ स्थाइ घर भएकी सोनिकाले यूट्यूबमा ’द सोनिका सो’ नामक कार्यक्रम चलाउने गरेकी छन् । उनले चलाउने कार्यक्रममा विशेषगरी वयस्क र द्विअर्थी विषयले भरिएका हुन्छन् । उनी जति यस्ता अन्तरवार्ता तथा शो गर्न चर्चित छिन् उस्तै शैलीमा अन्तरवार्ता दिने गरेकी छिन् । हालै उनले मुम्बई पुगेर भारतका चर्चित कमेडियन कपिल शर्माको समेत अन्तरवार्ता लिएकी छन् ।
यस्तै उनी अन्तरवार्ता लिने अन्य यूट्यूबरको रोजाइमा पनि उत्तिकै पर्छिन् । पछिल्लो समय यूट्यूबमै व्यस्त देखिए पनि उनले केही म्यूजिक भिडियोहरूमा मोडलिङ समेत गरेकी छन् । उनले स्टेज कार्यक्रमहरू पनि संचालन गर्ने गर्छिन् ।
नेपालमा राजतन्त्रको अवसानसँगै मुलुक संघीय गणतन्त्रको बाटोमा गएपछि पारस केही वर्ष थाइल्याण्ड बसे । यसक्रममा उनी एकपटक लागुऔषधसहित समातिए भने उनलाई हृदयघातसमेत भयो ।
हृदयघातबाट स्वास्थ्यलाभ गरेपछि केही वर्षयता नेपाल बस्न लागेका पारसले केही समयपछिसम्म मदिरा सेवन छाडेको बताइएको भए पनि पछिल्लो समय उनी पुनः मदिरामा डुब्न थालेको दाबी गरिँदै आइएको छ । पारसको आनीबानी सुधार नभएकाले उनी नेपाल फर्किए पनि निर्मल निवासमा नबसी बाहिर नै बस्दै आएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्