सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पत्रकारले प्रधानमन्त्रीलाई पनि किन तिमी भन्छन ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई ‘तिमी’ सम्बोधन गर्ने सञ्चारमाध्यमको लेखनलाई कटाक्ष गर्दै भने, ‘पत्रकारले बाउलाई पनि तपाईं भन्दैन, तिमी भन्दा माथि उठ्दैन ।’ मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीको भनाइ थियो–‘सानालाई तिमी र ठूलालाई तपाईं भन्नु स्वाभाविक हो ।’

प्रधानमन्त्रीले भनेजस्तै केही वर्षयता अधिकांश सञ्चार माध्यमले तिमी भनेर सम्बोधन गर्ने गरेका छन् । यस्तै लेखौं भनेर कुनै औपचारिक निर्णय गरेको नभए पनि यो शैली करिब–करिब अब स्थापित जस्तो भइसकेको छ । सञ्चारमाध्यममा अघोषित रुपमा स्थापित ‘तिमी’ भनेर सम्बोधन गर्ने यही शैलीप्रति प्रधानमन्त्री ओलीले बेलाबेला असन्तुष्टी पोख्दै आएका छन् ।

पार्टी एकिकरण पुर्व एमालेको अध्यक्ष हुँदा पनि ओलीले यस्ता असन्तुष्टि पोख्दै आएका थिए । खासगरी नेपाल ठुला मिडिया हाउसले सबैलाई ‘तिमी’ भनेर सम्बोधन गर्न थालेपछी आम मिडियाले पनि सोही पदचाप पछ्याएका हुन् ।

Journalist, Media

समाचार लेख्ने पत्रकारले व्यक्तिगत हिसाबले तिमी सम्बोधन गरेका हुन् भन्ने प्रधानमन्त्रीको बुझाई छ तर मिडियाकर्मीको तर्क समाचार लेख्ने पत्रकारले नभई तिमी सम्बोधन सञ्चार संस्थाले गरेको भन्ने बुझ्नु जरुरी छ ।

धेरैको तर्क राष्ट्रपती, प्रधानमन्त्री जस्ता उच्चपदस्थलाई पनि तिमी भन्ने अनि चोर, डाँकालाई पनि तिमी भन्ने कुरा मर्यादाको अपमान भयो भन्ने छ । यो तर्क पनि गलत चाहीँ होईन तर प्रश्न कहाँ आउँछ भने उच्च पदस्त नै अपराधी प्रमाणीत भएको खण्डमा चाहीँ के गर्ने ?

‘गरिबक्स्यो, गर्नुभयो, र्गयो’ लेख्दै आएका पत्रकारहरूले ‘गरे’ भनेर किन लेख्न थाले त ? यो प्रश्नमा प्राध्यापक पी खरेल भन्छन्–‘प्रधानमन्त्रीको भनाइको आशय सञ्चार माध्यमले ‘तिमी’ को सट्टा ‘तपाईरहजुर’ भनेर सम्बोधन गर्नुपर्छ भन्ने देखिन्छ । तर, उहाँले यो आमजनताको सन्दर्भमा भन्न खोज्नुभएको होइन । प्रधानमन्त्रीज्यूको आपत्ति जनतालाई तिमी भनेकोमा नभई महत्वपूर्ण पदमा भएका व्यक्तिको सन्दर्भमा हो ।’

खरेलले अगाडी भने–‘उदाहरणका लागि पूर्वराजालाई पनि ‘थिए’ नै लेखेको देखिन्छ । मूलधारका सञ्चार माध्यमले ‘तिमी’ भन्ने सम्बोधन चलाएको १३ वर्ष जति भयो होला । अब यो सम्बोधन स्वीकार्य भइसकेको छ । कुरा यत्ति हो, एकरुपता चाहिन्छ । कसैलाई हजुर, कसैलाई तिमी, तँ लेख्न मिल्दैन ।’

त्यस्तै शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल भन्छन्–‘हामी एकदमै माया गर्नेलाई तँ भन्छौं । अर्थात माया गरेर भनिएको छ भने तँ भन्दा पनि अपमान हुँदैन । कहिलेकाँही भनिबक्सियो, गरिबक्सियो भन्दा पनि खिल्ली उडाएको हुन्छ ।

यसको अर्थ शब्द के प्रयोग र्गयो भन्दा पनि कुन अवस्थामा प्रयोग गरिएको हो भन्ने कुरा महत्वपूर्ण हुँदो रहेछ । भावले शब्दको अर्थ लगाउँदो रहेछ । गरे, र्गयो, गर्नुभयो सबै नेपाली भाषाकै कृयापद हुन् । ती हाम्रै सम्पत्ति हुन् । तर, सञ्चार माध्यमले कसैलाई तिमी र कसैलाई तपाईं, हजुर भन्न मिल्दैन ।’

भाषाविद शरच्चन्द्र वस्ती भन्छन्–‘तिमी लेख्ने चलन एकरुपता होस् भनेरै चलाइएको हो । कसलाई हजुर लेख्ने, कसलाई तपाईं वा तिमी लेख्ने भनेर छुट्याउन गाह्रो हुन्छ भनेर पनि यो शैली अपनाइएको हो ।

यसमा थोरै प्रेरणा अंग्रेजी ‘यु’ को पनि छ । उनीहरूले साह्रै मन नपर्ने र खुट्टा मै ढोग्न मन लागेको मान्छेलाई पनि ‘यु’ नै चलाउँछन् । अंग्रेजीमा तपाईं, हजुर जस्ता शब्द नभएर पो एउटै शब्द चलाएको पो हो कि भन्ने बिर्सेका छौं । हामीले हाम्रो भाषा समृद्ध हुँदाहुँदै त्यसो गरिरहेका छौं कि ? हाम्रो समाजमा ठूलालाई तपाईं, हजुर र सानालाई तँ वा तिमी भन्ने चलन छ ।

पत्रकारितालाई समाजको ऐना पनि भनिन्छ । यदि त्यसो हो भने पत्रपत्रिकामा समाज त प्रतिविम्वित हुनु र्पयो नि । पत्रकारितामा एबीसी (एक्युरेट, ब्यालेन्स र क्रेडिबल) अनिवार्य मानिन्छ । समाजमा जे छ, त्यो सञ्चार माध्यममा आएन भने त त्यो एक्युरेट पनि भएन होला ।

बक्सियोस्, हजुर जस्ता शब्दको प्रयोग कम हुँदै गएको छ । मेरो विचारमा तपाईं र तिमी प्रयोग गर्दा ठीक हुन्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायत ‘टप फाइभ’ लाई तपाईं चलाउने कि ?’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS