सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मिर्गौला काण्ड, कागजपत्र भाञ्जाको मिर्गौला अर्कैको

निदान अस्पताल, पुल्चोकमा साउन तेस्रो साता गैरकानूनी ढंगले मिर्गौला प्रत्यारोपण भएको गाइँगुइँ चल्यो । अस्तपालका केही नर्सले पनि लिने दिनेको सम्बन्ध ‘शंकास्पद’ भएको प्रशासनलाई जानकारी गरायो । तर प्रशासनले त्यसलाई सुनेको नसुने झै र्गयो ।

नेपाल प्रहरीको अनुसन्धानले नक्कली कागज बनाएर मिर्गौला लिएको खुल्यो र, अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ), डाक्टरसहित पाँच जना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोका उपरीक्षक (एसपी) गोविन्द थपलियाले भने–‘पर्याप्त प्रमाण भेटिएपछि बुधबार ५ जनालाई पक्राउ गरेका छौं ।’

पक्राउ पर्नेमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विपेन्द्र प्रधान, कानूनी अधिकृत (लिगल अफिसर) कुमुदकुमार भट्टराई, चिकित्सक डा.राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले छन् ।

Nidan Hospital

त्यस्तै, मिर्गौला प्रत्यारोपण गरिएका शंकरलाल लामा (योञ्जन) पनि पक्राउ परेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेका अस्पतालका कर्मचारी मिर्गौला प्रत्यारोपण स्वीकृत समितिका पदाधिकारीहरु हुन् ।

मानव बेचबिखन व्युरोका अधिकृत भन्छन्–‘एक व्यक्तिको नाममा अर्कै व्यक्तिले मिर्गौला दिन लागेको सहजै बुझिने आधार भएपनि नरोकेकाले उहाँहरु कसूरदार ठहरिनु भएको छ ।’

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार दुवै मिर्गौला काम नलाग्ने भएपछि रामेछापको दोरम्बाका शंकर लामा १८ साउनमा निदान अस्पताल भर्ना भएका थिए । तर, मिर्गौला दिने उपयुक्त व्यक्ति भेटिएनन् ।

तत्कालीन दोरम्बा गाउँ विकास समितिमा पनि दुई पटक अध्यक्ष बनिसकेका लामा आर्थिक रुपमा सम्पन्न थिए । उनका छोरा पनि विदेशमा थिए । उनले नै सबै चाँजोपाँचो मिलाए ।

पारिवारिक नाताभित्रका व्यक्ति ल्याउँदा सहज हुने भएकाले उनले नातामा भाञ्जा पर्ने एक व्यक्तिलाई मिर्गौला दिनका लागि कानूनी रुपमा खडा गराए । तर, अर्कै व्यक्तिले मिर्गौला दिए ।

त्यसका लागि २० असारमै दोरम्बा गाउँपालिकाबाट नाता प्रमाणित गरिएको कागज तयार पारियो, जुन मिर्गौला प्रत्यारोपणका लागि समितिसमक्ष पेश गरिएको छ । पेश गरिएका सबै कागजपत्र सक्कली थिए । तर कागजपत्रमा फोटो भएको व्यक्तिको साटो अर्कै व्यक्तिको मिर्गौला झिकियो र लामालाई प्रत्यारोपण गरियो ।

नाता प्रमाणित गरिएको कागजमा भएको फोटोसँग मिर्गौला दिने करिब ३७ वर्षका युवकको अनुहार नमिलेको भन्दै नर्सहरु कुरा उठाएका पनि हुन् । तर, समितिका सदस्यले पुरानो फोटो होला भन्दै अर्को टाँसिदिए ।

‘फोटो फरक देखिँदादेखिँदै प्रत्यारोपणका लागि स्वीकृति दिनु समितिको गल्ती हो’, अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिलवाल भन्छन्, ‘त्यो नियतवश थियो वा लापरबाही भन्ने विषय पनि अनुसन्धान भइरहेको छ ।’

अनुसन्धान अधिकृतहरुकाअनुसार शंकरका छोरा (फरार भएकाले उनको नाम गोप्य राखिएको)ले मिर्गौला दिने व्यक्तिको खोजीका लागि केदार नाम गरेका व्यक्तिको सहारा लिएको भेटिएको छ । यद्यपि, उनको पूर्ण परिचय खुलिसकेको छैन ।

उनीसँग अस्पतालकै चिकित्सकले चिनजान गराइदिएको दाबी गरिएको छ । ‘अन्य चिकित्सकको पनि संलग्नता देखिए पक्राउ पर्छन्’, एसपी थपलिया भन्छन् । प्रहरीले अधिकृतहरुकाअनुसार मिर्गौला दिने व्यक्ति लेखपढ गर्न मात्र होइन, आफ्नो नाम लेख्न समेत सक्दैनन् ।

‘त्यसको फाइदा उठाएर उनलाई प्रभावमा पारिएको जस्तो देखिन्छ’, एक अनुसन्धान अधिकृतले भने, ‘केही हुँदैन, सामान्य कुरा हो । मिर्गौला दुई वटा हुन्छ, धेरैले एउटा दिन्छन् भनेर प्रभावमा पारिएको देखियो ।’

अनुसन्धानको सिलसिलमा भक्तपुरमा उनलाई प्रहरीले भेटाएको थियो, काभ्रे घर भएका उनलाई कसैले सोधे ‘आफ्नै खुशीमा मिर्गौला दिएको’ भन्न सिकाइएको थियो ।

तर प्रहरीअनुसन्धानका क्रममा प्रारम्भमा आफू तयार भएपनि पछि डर लागेको बताएका छन् । थाहै नदिइ हस्ताक्षर गराइएका कागजका कारण आफू डराएको पीडित बताउँछन् । ‘नमानौं भने फस्छु कि भन्ने डर भयो’, उनले भनेका छन् ।

मिर्गौला प्रत्यारोपण भएपछि तामाङका छोराको नाममा बैंक खाता खोलिएको र त्यसमा ३ लाख रुपैयाँ जम्मा गरिएको भेटिएको छ । यस्तै प्रत्यारोपणका लागि आवश्यक ११ लाख रुपैयाँ पनि अस्पतालमा बुझाइएको भेटिएको छ ।

तर अस्पताल प्रशासन वा पीडित मिलाइदिने दलाललाई कति रकम दिइयो भन्ने खुलेको छैन । मिर्गौला प्रत्यरोपण गरिएका तामाङले भने सबै कुरा छोरालाई थाहा छ भनेर पन्छिएका छन् । प्रहरीले मिर्गौला दिने व्यक्तिको छोराको नाम भेटिएको बैंक खाताबारे जानकारी माग माग गर्दै राष्ट्र बैंकलाई पत्र पनि पठाएको छ ।

‘अब बैंकबाट जवाफ आएपछि बैंकिङ च्यानलबाट भएको कारोबारबारे थाहा होला’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘अन्य कुरा चाहिँ छोरा र विचौलियाबाट खुल्छ ।’

हालसम्म प्रहरीले पक्राउ परेकाको विस्तृत बयान लिन पाएको छैन । मानव बेचबिखन तथा ओसारपासार नियन्त्रण ऐन, २०६४ अनुसार म्याद थप भएपछि अब थप अनुसन्धान थाल्ने तयारी गरिएको एसपी अनुपम शमशेरले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS