ताइफु प्रभावित क्षेत्रमा स्वयंसेवकिय कार्य गर्दै नेपाली
जापान यतिबेला गत १२ र १३ तारिखमा आएको समुद्री आँधी ताइफुका कारण बेपत्ता भएकाहरुको खोजी र प्रभावित भएका नागरिकहरुको जनजिवन सामान्य बनाउन लागिरहेको छ । पुर्व तयारी हुँदाहुँदै पनि समुद्री आँधीसंगै आएको पानीले जापानभरी अर्बौँको क्षति पुर्याएको छ भने हजारौँको उठिवास बनाएको छ ।
प्रभावित क्षेत्रमा अहिले जापानको आत्मरक्षा दल र स्वयंसेवकहरुले उद्दार तथा पुर्नस्थापना कार्य गरिरहेका छन् । तोचिगीलाई कर्मथलो बनाउँदै आएका नेपालीहरुले पनि प्रभावित क्षेत्रमा स्वयंसेवकीय कार्य गरेर ताइफुको पिडामा गुज्रिरहेको जापानलाई सहयोग गर्ने भएका छन् ।
बिभिन्न सिलसिलामा जापानको तोचिगीमा बस्दै आएका नेपालीहरुले यही अक्टुबर २७ तारिख आइतबारका दिन प्रभावित क्षेत्रमा स्वयंसेवकको काम गर्ने भएका हुन् । तोचिगी नेपाली कम्युनिटी, जापानको अग्रसरतामा हुन लागेको स्वयंसेवकिय कार्यमा सहभागी हुन तोचिगीवासी सबै नेपालीलाई अपिल गरिएको छ ।
स्वयंसेवकिय कार्यमा सहभागी हुनेहरु सबैलाई बिहान ८ः२० बजेभित्र तोचिगीसीस्थित फुजिमिच्योमा रहेको एसएमएस हाकेनको पार्किङ स्थलमा जम्मा हुन भनिएको छ । स्वयंसेवकहरुका लागी ८ः३० बजेदेखी १० बजेसम्म प्रशिक्षण हुने र त्यसपछी ३ बजेसम्म स्वयंसेवकको रुपमा काम गर्नुपर्ने तोचिगी नेपाली कम्युनिटीका संयोजक महेश लुईटेलले बताएका छन् ।
स्वयंसेवकीय कार्य गर्ने विषयमा आईतबार एसएमएस हाकेनको कार्यालयमा छलफल भएको थियो । छलफलपछी तोचिगी सिटी अफिससँगको सहकार्यमा तोचिगीवासी नेपालीले स्वयंसेवकको रुपमा सघाउने टुंगो लगाईएको हो ।
ताईफुले प्रभावित क्षेत्रमा स्वयंसेवकको काम गर्न सहभागी भई नेपालीको प्रतिष्ठा बढाउन सबै तोचिगीवासी नेपालीमा आग्रह गरिएको छ । स्वयंसेवकिय कार्यमा सहभागी हुनका लागी सो अवधीभरको विमा गर्नुपर्ने भएको हुँदा जापानको रेसिडेन्स कार्ड अनिवार्य बुझाउन भनिएको छ ।
ताइफुले जापानमा रहेका नेपालीहरुमा अहिलेसम्म कसैलाई पनि भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन । ताइफुसँगै आएको भारी बर्षाका कारण आएको बाढी र डुवानले तोचिगी क्षेत्रमा पनि व्यापक क्षति पुर्याएको छ भने दर्जनौँको उठिवास लगाएको छ ।
जापान भर्खरै हागिविस नामको शक्तिशाली समुद्री आँधी ताइफुको चपेटाबाट गुज्रिएको छ । हालसम्म प्राप्त तथ्यांक अनुसार ताइफुका कारण ८० जनाको ज्यान गईसकेको छ । अँझै दर्जनौँ हराईरहेका छन् भने करिब ३ सयको हाराहारीमा घाईतेहरुको उपचार भईरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्