नेपाल एयरलाईन्सको जापान उडानमा यात्रु बृद्धी
जापानमा सुरुवाती उडान घाटामा गर्दै आएको नेपाल एयरलाईन्सले पछिल्लो समय यात्रु संख्या राम्रो पाउँदै आएको छ । दशैं, गैरआवासीय नेपाली संघ (एनआरएनए)को अधिवेशन र मुख्य पर्यटकीय मौसमका कारण नेपाल एयरलाइन्सको जापान उडानमा यात्रु बढेका छन् ।
निगमले दशैं यता प्रति उडान औसत २ सय यात्रुलाई सेवा दिइरहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिएका छन् । खरेलले भनेका छन्–‘हामीले जूनदेखि जापानमा सुरु गर्ने भनेको उडान रद्द गरेर अगष्टमा सार्यौं, यसो गर्नुको पछाडि यात्रुको उपलब्धता होस् भन्ने नै थियो । अहिले जापान उडानमा क्रमशः यात्रुको चाप बढिरहेको छ ।’
दशैंको मुखमा करिब पूर्ण अकुपेन्सीमा उडेका निगमका जहाजमा अहिले प्रतिउडान २ सयभन्दा बढी एकतर्फी यात्रु रहेको उनले जानकारी दिएका छन् । सुरुआती दिनमा न्यून यात्रुबाट सेवा सुरु गरेको भए पनि चाडबाड र पर्यटकीय मौसमले जापान उडानमा सकारात्मक संकेत मिलेको हो ।
निगमले आगामी जनवरीबाट जापानको राजधानी नारितामा उडान गरिसक्ने बताएको छ । खरेलले भने–‘हामीले नारितामा स्लट पाइसकेका छौं, अब नियमित इन्धन भर्ने व्यवस्था र अन्य व्यवस्थापकीय काम सकेर उडानको मिति तोक्छौं ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्